जहाँ विपद् त्यही समाधान भन्दै कागेश्वरी मनोहराको स्वयंसेवक ब्युरो मैदानमा

जहाँ विपद् त्यही समाधान भन्दै कागेश्वरी मनोहराको स्वयंसेवक ब्युरो मैदानमा

साझा पेज
65
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । “संकटको बेला चुप लाग्ने समय अब छैन” भन्ने दृढ संकल्पका साथ कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको दुईदिने ‘स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।

‘जहाँ विपद्, त्यही समाधान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय जनशक्तिलाई विपद् व्यवस्थापनको अग्रपंक्तिमा उभ्याउने ऐतिहासिक प्रयासको रूपमा लिएको छ।

कार्यक्रमको उद्घाटन नगर विपद् तथा वातावरण समिति संयोजक विजय श्रेष्ठ (ध) ले गर्नुभयो। समापन समारोह भने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रमका संयोजक श्रेष्ठले भन्नुभयो, “स्वयंसेवक ब्युरोको सक्रियता केवल आजका लागि होइन, भोलिको सुरक्षित र सक्षम समुदाय निर्माणतर्फको दूरदर्शी तयारी हो।”

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष राम मणि पुडासैनी, वडा नं. ६ का प्रकाश फुयाल, कार्यपालिका सदस्य रुक्मति सापकोटा लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नेतृत्वदेखि कार्यान्वयन तहसम्मको समन्वयले कार्यक्रमलाई भाषण र औपचारिकतामा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिएको सहभागिहरूले बताएका छन्।

वडा नं. ३ का अध्यक्ष पुडासैनीले भन्नुभयो, “विपद् व्यवस्थापन केवल सरकारको जिम्मेवारी होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो।”

कार्यक्रमको मुख्य आकर्षण व्यावहारिक तालिम रह्यो, जसमा सहभागीहरूले मैदानमै अभ्यासमार्फत विपद् प्रतिकार्यका सीपहरू सिके। तालिम केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही जमैदानमै अभ्यास गरेर प्रदान गरिएको थियो।

– Fire Fighting Pump को प्रयोग अभ्यास नगरपालिकाको परिसरमै गरियो।


– Fire Extinguisher मार्फत आगलागी नियन्त्रणको व्यावहारिक विधि सिकाइयो।
– पोखरेल डाँडाको सम्भावित भूस्खलन क्षेत्रको अवलोकन गर्दै जोखिम पहिचान र सुरक्षित मार्ग निर्धारण गरियो।


– विशेष आकर्षण रहेको “Mission Flood Rescue Drill” व्यंजन पार्टी प्यालेसको स्वीमिङ पूलमा सम्पन्न भयो, जसमा पानीमा उद्धार, जीवनरक्षक उपाय, लाइफ ज्याकेटको प्रयोग आदिको अभ्यास गरियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका सबै ९ वडाबाट आएका कुल १०२ जना स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूमा महिला, युवा तथा विविध पृष्ठभूमिका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले समुदायमा समावेशी सहभागिताको सकारात्मक संकेत दिएको छ।

तालिमको समापन समारोहमा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सबै सहभागीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।

समापन मन्तव्यमा उहाँले भन्नुभयो, “अब हामी अरूको पर्खाइमा बस्ने छैनौं। यहीँका स्वयंसेवकहरू कागेश्वरी मनोहराको सुरक्षाको ढाल बन्नेछन्।”

उहाँले थप्नु भयो, “यो तालिम केवल ज्ञान प्रदान गर्ने माध्यम मात्र थिएन, यसले स्थानीय तहमा आत्मनिर्भर विपद् प्रतिकार्य संरचना निर्माणतर्फ पहिलो पाइलो चालेको छ।”

साथै सहभागीहरूको सुझावलाई ध्यानमा राख्दै, नगरपालिकाले यस्ता तालिमहरूलाई आगामी दिनमा नियमित र संस्थागत रूपमा सञ्चालन गर्ने योजना अघि सारेको जानकारी पनि दिनुभयो।