मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा मङ्गलबार साँझ छुहामा खोलामा एक्कासी आएको लेदोसहितको बाढीले केही संरचनामा क्षति पुर्याए पनि, समयमै आएको पूर्वसूचनाले ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ।
बाढीको संकेत देखिनेबित्तिकै वडा सदस्य नच्छुङ गुरुङले गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरेर जानकारी गराएका थिए। सूचना पाउनेबित्तिकै अध्यक्ष गुरुङले वडाध्यक्षहरू र स्थानीयहरूलाई सतर्क गराउँदै, तत्काल तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य अघि बढाएका थिए।
सूचना प्रवाहले बचायो ज्यान
बाढी प्रभावित वडा नं. १ र २ का अध्यक्षहरू पेमा आङ्ग्या गुरुङ र कर्म नाम्ग्याल गुरुङले सूचना पाएलगत्तै गाउँमा तत्काल खबर फैलाएर स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका थिए।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले पनि बाढीको सूचना पाउनेबित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासनबाट सूचना जारी गरिएको बताए।
“सूचना समयमै आएकोले ठूलो क्षति टर्यो,” अध्यक्ष गुरुङले बताउनुभयो, “यदि ढिलो भएको भए काठे पुलहरू र गोठ क्षेत्रमा रहेका पशुचौपायासहित मानवीय क्षति हुने सम्भावना थियो।”
बाढीको स्रोत रहस्यमय
सफा मौसम र वर्षा नभएको अवस्थामा पनि तिब्बती क्षेत्रमा आएको बाढीले स्थानीयवासीमा त्रासको वातावरण बनाएको छ। तिब्बतबाट आएको बाढीले पाँचवटा काठे पुल बगाएको पुष्टि भएको छ भने चरन क्षेत्र, पशुपालन क्षेत्रहरूमा समेत असर परेको छ।
हाल गाउँपालिका अध्यक्ष गुरुङको नेतृत्वमा क्षतिको विवरण संकलन गर्न टोली प्रभावित क्षेत्रतर्फ पठाइएको छ।
छिमेकी जिल्लामा पनि सतर्कता
बाढीको सूचना पाएलगत्तै मुस्ताङ प्रशासनले कालीगण्डकी नदीबाट प्रभावित हुने म्याग्दी, बागलुङ र पर्वत जिल्लामा समेत सूचना प्रवाह गरी सर्तकता अपनाउन अनुरोध गरेको छ।
यता चुमजुङ खोलामा पनि बाढीको संकेत देखिएपछि स्थानियले समयमै खबर गरेर पूर्वतयारीलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी भुषालले बताए। “विपद् व्यवस्थापनमा सूचना नै पहिलो आधार हो, समयमै जानकारी पाएपछि पूर्वतयारी गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
हाल जोमसोम आसपासका क्षेत्रमा वर्षा जारी छ भने थासाङ गाउँपालिकामा भीषण वर्षा भइरहेको जनाइएको छ।



प्रतिक्रिया