काठमाडौं। नयाँ खेलाडी जोआओ पेड्रोको उत्कृष्ट प्रदर्शनमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
२३ वर्षीय पेड्रोले आफ्नो पूर्व क्लबविरुद्ध पहिलो पटक पूरा खेल खेले र १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। फ्लुमिनेन्सका डिफेन्डर तथा चेल्सीका पूर्व कप्तान थियागो शिल्भाले नेटोको क्रस क्लियर गर्न नसकेपछि पेड्रोले गोल गर्ने अवसर पाए।
उनले दोस्रो गोल खेलको ५६ औं मिनेटमा गरे। डिबक्सबाहिरबाट हानेको बल बारमा लागेर पोष्टभित्र छिरेपछि चेल्सीको जित पक्का भयो।
यस जितसँगै चेल्सीले प्रतियोगिताबाट ६० मिलियन डलर आम्दानीमा २२ मिलियन बोनस थप्नेछ। ब्राइटनबाट ५५ मिलियन डलरमा भर्खरै अनुबन्धित पेड्रोले क्लबको लगानीलाई चाँडै प्रभावकारी बनाएका छन्।
तर चेल्सीका लागि खेलको अन्त्यतिर एक निराशाजनक क्षण पनि रह्यो। मिडफिल्डर मोइसेस काइसिडोले ९३ औं मिनेटमा एङ्कलमा चोट पाएजस्तो देखिएपछि मैदान छाडे। उनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
अब चेल्सीले आइतबार सोही मैदानमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेनमध्ये विजेतासँग फाइनल खेल्नेछ।



प्रतिक्रिया