रियललाई हार चखाउँदै पीएसजी फाइनलमा

रियललाई हार चखाउँदै पीएसजी फाइनलमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै चेल्सीसँगको उपाधि भिडन्त तय गरेको छ। फेबियन रुइजले दुई गोल गर्दै निर्णायक भूमिका निर्वाह गरे।

‘यो हार निकै पीडादायी हो। हामी आजको दिन आवश्यक स्तरमा पुग्न सकेनौं,’ रियल मड्रिडका प्रशिक्षक जाबी आलोन्सोले अनुवादकमार्फत प्रतिक्रिया दिए।

रियलको प्रदर्शन निराशाजनक रह्यो। यसअघि च्याम्पियन्स लिग फाइनलमा पीएसजीसँग ५–० ले पराजित भएको इन्टर मिलानभन्दा पनि कमजोर देखियो। १५ पटकको युरोपियन च्याम्पियन रियल फ्लोरिडा यात्रापछि थाकेको देखिन्थ्यो, जसको फाइदा पीएसजीले लियो। पहिलो हाफमा पीएसजीको बल नियन्त्रण ७६.५ प्रतिशत थियो।

७७ हजार ५४२ दर्शकको अगाडि न्यू जर्सीको मेटलाइफ स्टेडियममा ९१ डिग्री फारेनहाइट (३३ सेल्सियस) तापक्रम र झन् बढी आर्द्रताबीच खेलिएको प्रतियोगितामा रियलका स्टार केलियन एम्बाप्पेले खासै प्रभाव जमाउन सकेनन्।

खेलको छैटौं मिनेटमै रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यसको तीन मिनेटमै ओस्मान डेम्बेलेले अर्को गोल थपे। दुवै गोल रियल मड्रिडका डिफेन्डर राउल एसेन्सियो र एन्टोनियो रुडिगरको गल्तीपछि सम्भव भएको हो।

२४औं मिनेटमा रुइजले काउन्टर अट्याकमा आफ्नो दोस्रो गोल गर्दै ३–० को अग्रता बनाए। ८७ औं मिनेटमा गोन्सालो रामोसले चौथो गोल थपे। च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ।

‘हामी अर्को फाइनलमा पुग्न पाउँदा निकै खुशी छौं,’ खेलपछि रुइजले भने,‘यो ऐतिहासिक उपलब्धि हो। यो सिजन हरेक फाइनलमा पुग्नु निकै कठिन कुरा हो। अब हामी उपाधिबाट एक पाइला टाढा छौं।’