काठमाडौं । एन्फा यू–१६ युथ लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबलाई २–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि समिर राई र अप्सन राईले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। दुवै गोल दोस्रो हाफमा आएका थिए।
खेलको ५८औँ मिनेटमा समिर राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। त्यसपछि खेलको ८८औँ मिनेटमा अप्सन राईले गोल थपेर टोलीको जित सुनिश्चित गरे।
फ्रेन्डसका लागि खेल थप कठिन तब बन्यो जब ७७औँ मिनेटमा प्रशान्त भण्डारीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
यसअघि पुलिसले आफ्नो पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई ६–० को फराकिलो अन्तरले हराएको थियो। लगातार दुई जितसँगै पुलिसको खाता ६ अंकमा पुगेको छ।
अब पुलिस क्लबले शुक्रबार (असार २७) मा अर्को विभागीय टोली एपीएफ क्लबसँग भिड्नेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।
फ्रेन्डस क्लबले भने तेस्रो खेलमा सोही दिन संकटा क्लबको सामना गर्नेछ, जुन खेल दिउँसो १ बजे हुनेछ।



प्रतिक्रिया