इतिहास बनाउने अवसरमा पीएसजी, चेल्सीविरुद्ध सतर्क

इतिहास बनाउने अवसरमा पीएसजी, चेल्सीविरुद्ध सतर्क

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। इतिहासमै सबैभन्दा सफल सिजनलाई क्लब विश्वकप जितेर स्मरणीय बनाउने अवसर पेरिस सेन्ट-जर्मेन (पीएसजी)सँग छ। तर, प्रशिक्षक लुइस एनरिकेले आइतबारको फाइनल चेल्सीविरुद्ध सजिलो नहुने बताएका छन्।

उनी भन्छन्,‘यो कुनै हालतमा सजिलो खेल हुने छैन। हामी उपाधिको प्रबल दाबेदार हौं भन्ने कुरा म स्वीकार्दिनँ। चेल्सी निकै बलियो छ।’

उनी थप्छन्,‘मैले चेल्सीको विश्लेषण गरेको छु। उनीहरूसँग उत्कृष्ट खेलाडीहरू छन्। प्रशिक्षक एन्जो मारेस्का निकै राम्रो काम गरिरहेका छन्। मलाई उनको शैली मन परेको छ। चेल्सी एक पूर्ण र प्रतिस्पर्धी टोली हो।’

यस सिजन पीएसजीले फ्रेन्च लिग र कप दुवै जितिसकेको छ। मे महिनाको अन्त्यमा क्लबको इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। अब पीएसजीको नजर क्लब विश्वकप जितेर ऐतिहासिक ट्रेबल (त्रिगुण उपाधि) पूरा गर्ने हुनेछ।

‘हामी यो ऐतिहासिक सिजनलाई सर्वोत्तम तरिकाले समाप्त गर्न चाहन्छौं,’ बार्सिलोना पूर्वप्रशिक्षक एनरिकेले भने,‘अब अर्को अध्याय सुरु गर्नुपर्छ। अझ ठूलो उपाधिहरू जित्ने लक्ष्य बनाउनुपर्छ। आइतबार जितेर हामी इतिहासमा अर्को पृष्ठ थप्न चाहन्छौं।’

पीएसजीले यस प्रतियोगिताको सेमिफाइनलमा रियल मड्रिडलाई ४–० ले हराएको थियो। यसअघि एट्लेटिको मड्रिड र लिओनल मेसीको इन्टर मियामीविरुद्ध पनि चार–चार गोल गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो।

‘तर, हामीले यो अन्तिम खेल जित्नैपर्छ, ताकि सिजनलाई सुन्दर रूपमा टुंग्याउन सकियोस्। फाइनलमा सधैं एक विजेता हुन्छ र एक पराजित। तर, पराजित टिमले केही गलत गरे भनेर हुँदैन। हामी पनि भविष्यमा कतै पराजित हुनेछौं। किनभने शीर्ष स्तरको फुटबलमा त्यो स्वाभाविक कुरा हो। तर, अहिलेको लागि, हामी स्पष्ट बाटोमा छौं,’ उनले भने।

यो ३२ टोली सहभागी पहिलो क्लब विश्वकप संस्करण हो। जसले आइतबारको फाइनल जित्छ, त्यो टोली चार वर्षका लागि क्लब विश्व च्याम्पियन बन्नेछ। किनभने अर्को संस्करण २०२९ मा मात्र हुने तय छ।

कप्तान मार्किन्होसले भने,‘हामीलाई थाहा छ यो खेल कति महत्त्वपूर्ण छ। यो विश्वकपको फाइनलमा पुग्ने सुनौलो मौका हो। यस्ता अवसर चार–चार वर्षमा मात्र आउँछन् र चार वर्षपछि हामी कहाँ हुनेछौं भन्ने कसैले जान्दैन।’