ताप्लेजुङ । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीब्र पारिएको हो ।
प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीब्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय तयारीसँगै सहयोग सङ्कलन लगायतका कार्य भइरहेको छ ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको पुरस्कार राशि पनि वृद्धि गरिएको छ । समितिको निर्णयअनुसार गोल्डकप विजेतालाई सात लाख दुई हजार ८२ र उपविजेतालाई तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार राशि पाउने भएका शेर्पाले बताउनुभयो । यसअघि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउँदै आएका थिए ।
यता यसवर्ष प्रतियोगितामा सहभागी हुने टोलीको भने टुङ्गो लाग्न बाँकी रहेको समितिका सचिव टीकेन्द्र नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा स्थानीय एकसहित आठ टोली सहभागी हुने छन् । भारत, दार्जिलिङको एक टोलीको प्रतियोगितामा सहभागिता रहने छ ।
गोल्डकप प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । त्यस्तै यो वर्ष गोल्डकपको टिकट बिक्रीका लािग बोलपत्र आह्वान गरिएको छ । समितिले न्युनतम २० लाख रुपियाँ रकम तोक्दै बोलपत्रको प्रक्रियामार्फत टिकट बिक्री गर्ने गरी बोलपत्र आह्वान गरेको जनाएको छ ।



प्रतिक्रिया