काठमाडौं । प्रभु हेलिकप्टरले आफ्नो उडान सेवामा थप गुणस्तरीय र प्रभावकारी सुधार ल्याउने उद्देश्यले आइपिओ जारी गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा आगामी दिनमा यात्रुमैत्री र सुरक्षित सेवा प्रवाहलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
प्रभु हेलि लिमिटेडका अध्यक्ष, सुभाष अमात्यले एक दशकमा प्राप्त साथ र सहयोगका लागि आभार व्यक्त गर्दै भविष्यमा अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे। एक दशकअघि मुक्तिनाथ हेलिकप्टरको नामबाट सञ्चालनमा आएको कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर्स खरिद गरेर प्रभु हेलिकप्टरको नाममा पुनः सञ्चालनमा ल्याएको हो।
अमात्यले भने, “नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थासँग मेल खाने सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा हामी निरन्तर प्रतिबद्ध छौं। आगामी दिनमा पनि यात्रु र सेवाग्राहीको माया र विश्वास पाउने आशा राख्छौं।”
प्रभु हेलिकप्टरले मुख्यत: नेपालका पर्यटन क्षेत्र, आकस्मिक उद्धार र सामग्री ढुवानीको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। सुरुमा एक रोबिन्सन हेलिकप्टरबाट व्यवसायिक यात्रा आरम्भ गरेको प्रभु हेलिकप्टर अहिले दुई एयरबस एच १२५ हेलिकप्टरसहित सेवा प्रवाह गर्दैछ।
कम्पनीले हाल पोखरा, काठमाडौं, लाङटाङ, मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा हेलिकप्टर टुर तथा साइटसिङ सेवाहरू उपलब्ध गराइरहेको छ। साथै, सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान र उद्धार सेवाहरू उपलब्ध छन्।
प्रभु हेलिकप्टर लिमिटेड २०७९ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा पनि उपलब्ध छ।
यसै बीच, प्रभु हेलिकप्टरले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरिरहेको छ। कम्पनीले आइपिओ बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।



प्रतिक्रिया