जापान । जापानमा १८ वर्षदेखि सक्रिय गैरआवासीय नेपाली समुदायका अगुवा सिद्धार्थ श्रेष्ठले एनआरएनए (गैरआवासीय नेपाली संघ) जापानको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। टोकियोमा आयोजित एक साधारण र सन्तुलित कार्यक्रममा उनले कुनै तामझामबिना आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
श्रेष्ठले यसअघि एनआरएनए जापानमा प्रवक्ता, महासचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सम्हाल्दै नेतृत्वको अनुभव बटुलेका छन्। तर, यसपटक उनले प्रचार–प्रसारभन्दा बढी व्यवहारिक योजनालाई प्राथमिकता दिएका छन्। न कुनै ठूलो ब्यानर, न आकर्षक नारा – उनको अभियान समस्या समाधानमुखी कार्ययोजनामा केन्द्रित देखिन्छ।
व्यवहारिक योजना: विद्यार्थीदेखि ‘नेपाल हाउस’ सम्म
श्रेष्ठको घोषणापत्रमा जापानमा रहेका नेपाली विद्यार्थीहरूको सहजता, नेपाल फर्किन हवाई टिकटमा सहुलियत ल्याउने पहल, र जापानी भाषा सिक्न नेपालीहरूको पहुँच विस्तारजस्ता विषयहरू प्राथमिकतामा छन्।
“ठूला भाषण र नारा होइन, तत्कालीन आवश्यकता बुझेर योजनाहरु ल्याउनुपर्छ,” उनले कार्यक्रममार्फत भने।
उनले ‘नेपाल हाउस’ निर्माणलाई समेत आफ्नो अभियानको महत्वपूर्ण हिस्सा बनाएका छन्। यो संरचना जापानमा रहेका नेपालीहरूको साझा सांस्कृतिक केन्द्र र गन्तव्य बन्ने लक्ष्य लिइएको छ।
पारदर्शिता र जवाफदेहिताको उदाहरणीय प्रतिबद्धता
श्रेष्ठले करिब ६ वर्षअघि एनआरएनए जापानमा देखिएको आर्थिक अनियमितता सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहिताका पक्षमा आफ्नो स्पष्ट भूमिका प्रदर्शन गरिसकेका छन्। आपतविपत्तिमा नेपालीहरूको साथमा उभिनु, निष्पक्ष अभिव्यक्ति र स्पष्ट दृष्टिकोणका कारण उनी जापानस्थित नेपाली समुदायमा लोकप्रिय पात्रका रूपमा चिनिन्छन्।
उनको उम्मेदवारीले जापानमा रहेका करिब २ लाख ५० हजार नेपालीहरूमाझ आशा र सकारात्मक परिवर्तनको संकेत दिएको छ। नेतृत्वमा सिद्धार्थ श्रेष्ठको प्रवेशले एनआरएनए जापानमा समुदायमुखी र परिणाममुखी सोचलाई बलियो बनाउने विश्वास बढेको छ।




प्रतिक्रिया