काठमाडौँ । साउनको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड देखिएको छ।
हिन्दु धर्मअनुसार साउन महिना र सोमबारको दिन भगवान् शिवको आराधना गर्ने विशेष अवसर मानिन्छ। यही धार्मिक विश्वास अनुसार आज देशभरका शिव मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरू बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि लामबद्ध भएका थिए।
शास्त्रीय मान्यताअनुसार साउन महिनामा विशेष गरेर सोमबारका दिन शिवलिङ्गमा शुद्ध जल अर्पण गर्दा भगवान् शिव प्रसन्न भई मनोकामना पूरा गरिदिने विश्वास गरिन्छ। साथै, यो दिन व्रत बस्दा मनका चाहना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने जनविश्वास पनि छ।
यस दिन पशुपतिनाथ क्षेत्रमा भक्तजनहरू शिवलिङ्गमा जल, बेलपत्र, दूध, फलफूल चढाउँदै पूजा आराधनामा तल्लीन देखिन्थे। सुरक्षा व्यवस्था कडा पारिएको थियो भने दर्शन व्यवस्थापनका लागि स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालित थिए।



प्रतिक्रिया