काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा, सेवा शुल्कमा ८० प्रतिशतसम्म छुट

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा, सेवा शुल्कमा ८० प्रतिशतसम्म छुट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। केही समयदेखि बन्द रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ। शुक्रबारदेखि अस्पतालले सर्वसाधारणका लागि निःशुल्क ओपीडी सेवा सुरु गरेको छ भने अन्य सेवा शुल्कमा पनि निजी अस्पतालको तुलनामा ८० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिएको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, “स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा यो पुनःसञ्चालन एक सकारात्मक कदम हो। जनमुखी, गुणस्तरीय र सुलभ सेवा प्रवर्द्धनमा प्रदेश सरकार सधैं साथ रहनेछ।”

सेवा सस्तो, तर गुणस्तरीय हुने अध्यक्ष बसुरुद्दिन अन्सारीको प्रतिबद्धता

कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले अस्पतालको पुनःसञ्चालनलाई ऐतिहासिक दिनका रूपमा उल्लेख गर्दै भने, “यो शिक्षण अस्पताल भएकोले हाम्रो सेवा शुल्क सरकारीभन्दा अलिकति मात्र बढी, तर निजी अस्पतालभन्दा करिब ८० प्रतिशत कम हुनेछ। हामी सबैका लागि सुलभ र भरपर्दो स्वास्थ्य सेवा दिन चाहन्छौं।”

विशेषज्ञ सेवा निःशुल्क, अन्य सेवामा विशेष छुट

अस्पतालका व्यवस्थापक दिलिप साहका अनुसार प्रारम्भिक चरणमा निम्न विशेषज्ञ सेवाहरू पूर्ण रूपमा निःशुल्क हुनेछन्:

जेनेरल मेडिसिन

सर्जरी

स्त्री तथा प्रसूति

हाडजोर्नी

बाल रोग

मानसिक स्वास्थ्य

छाला तथा यौन रोग

नाक-कान-घाँटी

आँखाको सेवा

नसा, मुटु, किड्नी, मूत्र, छाती रोग सम्बन्धी सम्पूर्ण सेवा

त्यस्तै, एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। अस्पताल परिसरमै फार्मेसी सेवा पनि सञ्चालनमा ल्याइएको छ।

सस्तो मात्र होइन, जिम्मेवार सेवा दिन चाहन्छौं : प्रमुख कार्यकारी अधिकृत अन्सारी

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) जहाँगिर अन्सारीले भने, “यो अस्पताल काठमाडौं शहरकै केन्द्रमा रहेकोले हामीलाई थप जिम्मेवार बनाउँछ। सस्तो मात्र होइन, गुणस्तरीय र उत्तरदायी सेवा दिने हाम्रो प्रतिबद्धता हो। निःशुल्क सेवा सुरु गर्नु सामाजिक उत्तरदायित्व हो भन्ने सोचका साथ अगाडि बढेका छौं।”

नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल सञ्चालनको अनुभव बोकेको टिमले अब काठमाडौं नेशनल मेडिकल कलेजलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा एक उदाहरणीय संस्था बनाउने लक्ष्य लिएको छ।