काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले पहिलोपटक स्तनपानसम्बन्धी परामर्श सेवा सुरु गरेको छ। विशेषगरी कामकाजी महिलाहरूका लागि उपयोगी हुने गरी यो सेवा सञ्चालन गरिएको हो।
अस्पतालकी ल्याक्टेसन कन्सल्टेन्ट साफिया खातुनका अनुसार, आमाहरूलाई स्तनपान गराउने प्रक्रियामा आउने समस्या, स्तनमा देखिन सक्ने असहजता, तथा दूध चुसाउने सही तरिका सम्बन्धी परामर्श दिइनेछ।
उनका अनुसार, “कामकाजी महिलाहरूलाई स्तनपानलाई निरन्तरता दिन के–कस्तो उपाय अपनाउने भन्ने विषयमा क्लिनिकमा व्यावसायिक सल्लाह दिइन्छ।”
जापानी प्रविधि प्रयोग गरी स्तन मसाज सेवा पनि
खातुनका अनुसार क्लिनिकमा जापानी प्रविधिको म्यानुअल स्तन मसाज प्रविधिमार्फत दूध उत्पादन बढाउन सहयोग गरिन्छ। साथै, केही समय स्तनपान नगरेका आमाहरूलाई पुनः चुसाउन सहयोग गर्ने, सही पोस्चर तथा दूध चुसाउने विधिहरूसमेत सिकाइनेछ।
सेवा समय र कार्यक्रम
सेवा समय: आइतबारदेखि शुक्रबार, दिउँसो १२ बजेबाट ४ बजेसम्म
सम्पर्क: ०१–५९७००३२
विशेष कार्यक्रम: साउन २१ गते — आमा र गर्भवती महिलाका लागि विशेष स्तनपान सचेतना कार्यक्रम
नेपालमा ६ महिनासम्म स्तनपान गराउने दर घट्दो
नेपाल डेमोग्राफिक हेल्थ सर्भेका तथ्यांक अनुसार, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने दर स्थिर (५५%) रहे पनि ६ महिनासम्म पूर्ण स्तनपान गराउने मातृसंख्या भने घट्दै गएको छ। सन् २०१६ मा यो दर ६६% थियो भने सन् २०२२ मा ५६% मा झरेको पाइएको छ।



प्रतिक्रिया