काठमाडौं। दार्चुला पावर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दार्चुला पावरको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो । जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो ।
कम्पनीले हाल २८.३०४ मेगावाट को मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुर पश्चिमी क्षेत्रमा अवस्थित छ । उक्त आयोजनाको निर्माण कार्यहरु द्रुतगतिमा अगाडि बढेको छ भने आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।
यस कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख शेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवर्द्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।



प्रतिक्रिया