वीरेन्द्रनगर। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूलाई इमानदारीपूर्वक पार्टीप्रति समर्पित हुन आग्रह गरेका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले जिम्मेवारीमा पुगेपछि पन्छिने प्रवृत्तिको आलोचना गर्दै त्यो सुधार गर्नुपर्ने बताएका हुन्।
“पार्टी अधिवेशनको बेला दरखास्त हाल्न भीड लाग्छ, तर निर्वाचित भएपछि जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउँछ,” उपसभापति खड्काले भने, “त्यस्तो सोचबाट बाहिर ननिस्कने हो भने संगठन बलियो हुँदैन। हामीले आफैंबाट सुधार सुरु गर्नुपर्छ।”
उनले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै, स्वर्गीय नेताहरूले छाडेको राजनीतिक र संगठनात्मक सम्पदा नै पार्टीको असली शक्ति भएको उल्लेख गरे। “उनीहरू अब ब्युझाएर आउनुहुन्न, उहाँहरूले इतिहास छाडेर जानुभएको छ, अब त्यो इतिहासको शक्तिमा अघि बढ्नुपर्छ,” खड्काले बताए।
पार्टी र देशभित्र समस्या छन्, समाधान कांग्रेसले नै गर्छ
देश र पार्टीभित्र रहेका समस्याबारे खुला रूपमा बोल्दै उपसभापति खड्काले ती समस्या समाधानको जिम्मेवारी कांग्रेसकै भएको बताए। “कसैले आएर समाधान गरिदिँदैन, हामीले नै गर्नुपर्छ,” उनले भने।
उनका अनुसार, अहिले आम मतदाता र नागरिकहरू नेतृत्वप्रति निराश नभई असन्तुष्ट छन्, र त्यो असन्तुष्टि सुधारको अपेक्षा हो। “असन्तुष्टि भनेको जनताको सक्रिय चेतना हो, अब नेतृत्वमा रहेका हामीले त्यो बुझ्नुपर्छ र आफैं सुधार गर्नुपर्छ,” उनले थपे।
नयाँ पुस्ताका लागि ‘पोलिसी एन्ड रिसर्च स्कुल’ सञ्चालन
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्काले प्रतिष्ठानले पहिलो पटक ‘अनुसन्धान निर्देशनालय’ गठन गरेको जानकारी दिए।
उनका अनुसार, ३२ वर्षमुनिका युवाहरूको लागि ‘पोलिसी एन्ड रिसर्च स्कुल’ सञ्चालन गरिएको छ, जहाँ प्राज्ञिक लेखन र तथ्याङ्क विश्लेषणको तालिम दिइँदैछ। “केही महिनामै त्यसको प्रारम्भिक नतिजा सार्वजनिक हुनेछ,” उनले बताए।
प्रतिष्ठानलाई पूर्णता दिइसकेको जानकारी दिंदै उनले नीति, प्रशिक्षण र अनुसन्धानका कामहरू तीव्र गतिमा अघि बढिरहेका पनि बताए।
उपसभापति खड्काले अन्त्यमा पार्टीभित्र सक्रियता, प्रतिबद्धता र जवाफदेहिताको आवश्यकता अझै गहिरो बनेको उल्लेख गर्दै नेतृत्व तहमा रहेका सबैलाई आ–आफ्नो भूमिका गम्भीर रूपमा निर्वाह गर्न आह्वान गरे।



प्रतिक्रिया