वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रूस युद्धबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तथा प्रमुख युरोपेली नेताहरूसँग बैठक गरेका छन्।
ह्वाइट हाउसमा सम्पन्न उक्त बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका चान्सलर फ्रिडरिख मर्ज र नाटो महासचिव मार्क रुट्ले पनि सहभागी थिए।
बैठकमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा छलफल भएको ट्रम्पले जानकारी दिएका छन्। उक्त सुरक्षा योजना अमेरिका र युरोपेली देशहरूले संयुक्त रूपमा समन्वय गर्नेछन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रूस–युक्रेन द्वन्द्वमा शान्तिको सम्भावनाप्रति आफू आशावादी रहेको बताएका छन्।
बैठकपछि ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्। उनले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताका लागि तयारी थालिएको बताएका छन्। आगामी त्रिपक्षीय सम्मेलनमा ट्रम्प आफैं सहभागी हुने योजना रहेको पनि उनले उल्लेख गरेका छन्।
उनका अनुसार यो बैठक झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यतर्फको प्रारम्भिक कदम हुनेछ। ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ युद्ध समाधानका लागि रूस र युक्रेनसँग सक्रिय समन्वयमा रहेको बताएका छन्।



प्रतिक्रिया