काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य रणनीतिको एक भाग रहेको बताएका छन् । काष्ठमण्डप संवाद श्रृंखलालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनालाई संसद्ले पास गरे पनि नेपाली जनताले मान्यता नदिएको र मान्यता नदिने बताए । एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको विप्लवको दाबी छ । नीतिगत एवं कानूनी पाटोमात्रै नभएर यसको व्यवहारिक पक्ष पनि निकै विवादित र समस्यामूलक रहेको उनले बताए । एमसीसीको आर्थिक पारदर्शितामा नागरिकहरुको चासो रहेको उनले बताए । एमसीसीले खरिद गरेको भनिएको जग्गामा नेपाली जनताको विरोध र गुनासो रहेको उनले बताए । जग्गाको उचित मूल्य नपाएको र जबरजस्ती अधिकरण गरिएको उनले बताए । नेपालमा एमसीसी कार्यान्वयन हुन निकै कठिन रहेको उनले बताए ।
‘एमसीसी बारे नेपाली नागरिकमा त्यतिबेला बढी चासो बढ्यो, जब यो परियोजना अमेरिकी सैन्य रणनीतिको एक भाग हो भन्ने सूचना सार्वजनिक भयो । विकासका लागि ठूलो रकम अमेरिकाले उपलब्ध गराउँदैछ भन्ने उत्साह एकाएक त्रास र आक्रोशमा बदलियो । किनकी नेपाली जनतालाई विकास र रकमको खाँचो भए पनि आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताप्रति धेरै संवेदनशील छन्,’– उनले भने ।
एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँगको मैत्रीपूर्ण सहकार्यका लागि जे नगर्न पर्ने हो त्यही गल्ती दोहोर्याएको उनले बताए । उनले डलरको खोल ओढेर सैन्य मोर्चा खडा गर्ने उद्देश्य एमसीसीको रहेको बताए । ‘एमसीसी र अमेरिकासँगको सम्बन्धबारे हाम्रो स्पष्ट धारणा छ कि– नेपालमा सहयोगको नाममा लादेको एमसीसी परियोजना देशलाई आफ्नो कब्जामा राख्ने साम्राज्यवादी परियोजना हो । यो सहयोग र डलरको खोल ओढेर सैन्य मोर्चा खडा गर्ने उद्देश्यमा आधारित छ,’– उनले भने ।
अमेरिकाले नेपालसँगको सम्बन्ध मित्रवत राख्न चाहन्छ भने अमेरिकी सुरक्षा नीतिसँग नेपाललाई अनावश्यक तान्ने र जोड्ने कार्य बन्द गरिनुपर्ने र नेपाली जनताले सहर्ष स्वीकार गर्नेभन्दा अरु गतिविधि रोकिनुपर्ने उनको भनाइ छ । ‘अमेरिकाले एमसीसी परियोजनालाई रोक्नुपर्छ या नेपालको संविधान, कानूनभित्र राखेर नेपाल सरकारकै नेतृत्वमा काम गर्न तयार हुनुपर्छ । अन्यथा यसले दुई देशको सम्बन्धमा दीर्घकालीक ढंगले नकारात्मक परिणाम निम्त्याउँछ,’– उनले भने ।



प्रतिक्रिया