माओवादी फुटाउने प्रतिक्रियावादीहरुको सपना चकनाचुर बनाइने छः सुदन किराती

माओवादी फुटाउने प्रतिक्रियावादीहरुको सपना चकनाचुर बनाइने छः सुदन किराती

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अहिले माओवादीभित्र अन्तर्संघर्ष चलिरहेको चर्चा छ । माओवादीभित्रका असन्तुष्ट समूहको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरिरहेका छन् । पार्टीमा असन्तुष्टि चुलिँदै गर्दा यता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने माओवादी घटकहरु बीचको एकताको अभियान चलाइरहेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री सुदन किरातीले पनि आफूलाई माओवादी रूपान्तरण, एकता, शुद्धीकरण र सुदृढीकरको पक्षमा उभ्यिाएका छन् । प्रस्तुत छ माओवादी केन्द्रको अन्तरद्वन्द्वको विषयमा किरातीसँग पत्रकार मोहन बुढाक्षेत्रीले गरेको संवादको सम्पादित अंशः

पार्टीभित्रको अन्तरसंघर्षलाई कसरी हेर्नुभएको छ ?

पार्टीभित्रको अन्तरसंघर्ष भनेको यथास्थितिमा माओवादी पार्टीले सहिदको सपना र राष्ट्रिय आवश्यकता पूरा गर्न सक्दैन । आजको अनिवार्य शर्त भनेको रूपान्तरण हो । माओवादीप्रति सहानुभूति राख्ने शुभचिन्तक आम पार्टीपंत्तिले यो रुपान्तरणको झण्डालाई झुक्न दिन हुँदैन ।

अहिले माओवादीमा विभाजनको प्रसंग पनि चलिरहेको छ । यसमा तपाई अध्यक्ष प्रचण्डतिर हुनुहुन्छ कि कतापट्टी ?

माओवादी पार्टी फुटाउने प्रतिक्रियावादीहरुको सपनालाई चकनाचुर बनाइने छ । कम्युनिष्ट आन्दोलनमा प्रश्न उठाएर भाग्ने प्रवृत्ति पनि छ । प्रश्न उठाउनेवित्तिकै अनुसन्धान र बृहत बहसतिर जान छोडेर लखेट्ने चलन पनि छ । दुईवटै प्रवृत्तिको म घोर विरोध गर्दछु । पार्टी फुटको मानसिकतामा म छैन र त्यसलाई खारेज गर्छु । हामी सबै सचेत कार्यकर्ताले त्यसलाई खारेज गर्नुपर्छ र भण्डाफोर गर्नुपर्छ ।

तपाई कुनै समय अध्यक्ष प्रचण्डको नजिकको मान्छे हुनुहुन्थ्यो । अहिले तपाईको प्रचण्डसँगको मोह भंग किन भयो ?

हैन । अहिले पनि म सबैभन्दा बढी प्रचण्डको पक्षपाती हुँ । किनभने यतिको ठूलो परिवर्तन गराएर लिएर आउने नेता प्रचण्ड हो । तर, प्रचण्डलाई अमर राखिराख्नको लागि, उहाँको योगदान र विचारलाई अमर राखिराख्नको निम्ति पार्टी रूपान्तरण गरिनुपर्छ । आज प्रचण्डको पक्षपाती हुँ भनेर पार्टी रूपान्तरण नगरी यथास्थितिमा राखियो भने उहाँले गरेको योगदान पनि विस्तारै छायाँमा पर्दै जान्छ । त्यसकारणले उहाँको योगदान र विचारलाई अमर राख्ने म पक्षपाती हुँ । त्यसकारण म अहिले पार्टी रुपान्तरणको पक्षमा छु ।

माओवादीलाई रूपान्तरण कसरी गर्ने त ?

सबैभन्दा पहिला त यो विधिमा चल्नुपर्यो । विधिमा चल्ने पार्टीमात्रै अनुशासित हुन्छ । अनुशासित पार्टीले मात्रै जनताको विश्वास जित्छ । विश्वास जितेको पार्टी शक्तिशाली हुन्छ र देशको नेतृत्व गर्न सक्छ ।

के अहिले माओवादी विधिमा चलेको छैन ?

माओवादी पार्टी विधिमा छैन । एउटा रात्रिकालीन बजारजस्तो, कुम्भमेलाजस्तो चलिरहेको छ ।

तपाईँको पार्टी अध्यक्ष प्रचण्डको गुण र अवगुणहरु के–के हुन् ?

समकालीन नेतृत्वमा चलायमान नेतृत्वको गुण भएको प्रचण्ड हो । समकालीन नेतृत्वहरुकाे राजनीतिक परिवर्तनमा जोखिमपूर्ण योगदान गर्ने पनि प्रचण्ड हो । दोषको कुरा गर्दा पछिल्लो समयमा नेपाली कम्युनिष्ट आन्दोलनको समस्याको समाधान र आजको राजनीतिक निकास यो हुनसक्छ भन्ने बाटो देखाएर हिँड्न पर्ने ठाउँमा उहाँले प्रतिक्रिया दिएर हिँड्न थाल्नुभएको छ । यसरी प्रतिक्रिया दिएर हिँड्नु कमजोरीजस्तो लाग्छ ।

तपाईँमाथि पनि पार्टी विभाजनको लागि भूमिका खोलिरहेको भन्ने आरोप लागिरहेको छ । माओवादी मूलधारको आन्दोलनबाट धेरैले विद्रोह पनि गरिसके । तपाईँहरुको यो प्रयोग पनि असफल हुन्छ कि ?

पार्टी विभाजन गर्ने पक्षमा म किमार्थ छैन र त्यो हुन पनि दिइने छैन । तर, एउटा कुरा हाम्रो पार्टीभित्र भयङ्कर जनवाद छ भनिरहँदाखेरी हाम्रो पार्टीको सबैभन्दा सिनियर नेता मोहन वैद्यदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा ब्राण्ड बनाएको बाबुराम भट्टराई हुँदै जनयुद्धमा छाती थापेर हिँड्ने नेताहरु कसरी पार्टीदेखि बाहिर हुँदै गए ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने गर्दछ । विषयमा छलफल हुनुपर्छ भन्ने मलाई लाग्छ । यतिधेरै हाम्रो पार्टीमा जनवाद छ, तै पनि, यति राम्रो हाम्रो पार्टीमा लिडर हुनुहुन्छ अध्यक्ष कमरेड प्रचण्ड । तर, पनि छोड्नुपर्ने कारण किन भएको छ ? यसको पहिचान गर्नुपर्छ । अर्को कुरा पार्टीभित्र छलफल, बहस गर्दा २०६४ सालमा प्रत्यक्षमा १२० सिट जितेको पार्टी आज विभिन्न दलहरुसित गठबन्धन गर्दा पनि १८ सिटमा खुम्चिनुपर्ने कारण के हो ? हाम्रो पार्टीभित्र त्यो रोगको पहिचान गर्नुपर्छ ।

पार्टी कमजोर हुँदै गएको जिम्मा कसले लिने त ?

प्रमुख नेताले सबैभन्दा बढी, र सबैले आ–आफ्नो तहअनुसार ।

तपाईँलाई पार्टीले कारबाही गर्यो भने नि ?

पार्टी रूपान्तरणको निम्ति जस्तोसुकै कारबाही भोग्न पनि तयार छु । सेतो टोपी लगाएर ग्रामिण क्षेत्रमा श्रम शिविरमा जान पनि तयार । तर, पार्टी छोडिँदैन । यो सधैंको पार्टी हो ।

तपाईँहरुमाथि पार्टी विभाजन गर्न खोजेको आरोप छ । तर, प्रचण्डले त माओवादी घटकहरुको एकताको कुरा चलाइरहुनु भएको छ नि ?

अब यो फगत एकतामात्रै गरेर हुँदैन । सबैभन्दा पहिला रणनीति र कार्यनीतिमा स्पष्ट हुनुपर्छ । त्यसले मात्रै दीर्घकालीन फाइदा पुर्याउँछ । धेरैचोटी परीक्षण भइसकेको छ । जनतालाई त्यसले झन निराशा र धोकामात्रै दिएको महशुस भएको छ ।