एसईईको रिजल्ट सार्वजनिक (यहाँबाट हेर्नुहोस आफ्नो नतिजा)

एसईईको रिजल्ट सार्वजनिक (यहाँबाट हेर्नुहोस आफ्नो नतिजा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–रमेश गिरी

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

परीक्षाका लागि फाराम भरेकामध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उहाँले जानकारी दिनुभयो । नतिजा सार्वजनिक गरिएपनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेबसाइट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।

यस वर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनःयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

गत चैत ६ गतेदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएर सरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालयको समितिले गरेको मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको तीन सदस्यीय मूल्याङ्कन समितिले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले आआफ्ना विद्यालयका कक्षा १० का विद्यार्थीको नतिजा तयार पारेर बोर्डमा पठाएका थिए । सोही अधारमा बोर्डले अक्षराङ्कनमा बदलेर प्रमाणीकरण गरी अन्तिम नतिजा तयार पारेर सार्वजनिक गरिएको बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले करीब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको र सोही आधारमा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशन भए पनि यही भदौ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न भने नपाइने भएको छ । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय एकाइले कारबाही गरिने बताएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनले संरचना परिवर्तन गरेसँगै विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र कक्षा १० लाई प्रदेशस्तरमा सञ्चालन गर्ने व्यवस्था भए पनि अझै लागू भएको छैन । बोर्डका अनुसार नेपाल टेलिकम र एनसेलका नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने व्यवस्था गरेको छ ।

एसईईको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

०००

काठमाडौँ उपत्यकामा २ हजार १३४ सक्रित्य कोरोना संक्रमित, तिब्र गतिमा बढ्दै

काठमाडौँ, १ भदौ । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् ।

उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।

यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

दिनानु दिन संक्रमित बढ्ने क्रम रहेको हुदा आफै साबधान रहन स्वास्थ्य मन्त्रालयले आह्वान गर्दै आएको छ ।

आज सोमबार काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र १४ जना रहेका छन्। त्यस्तै नेपालभर आज थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पिसीआर परिक्षण गरिएको थियो । आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४०८ जना र महिला १७३ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ४९५ जना पुगेका छन् । त्यस्तै

आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

०००

आज भदौ १ गते देखि १५ गते सम्म कडाईका साथ निषेधाज्ञा जारी, मासु पसल देखि भाडाकुडा पसल पनि खोल्न नपाइने, उल्लङ्घन गर्नेलाई कडा कारवाही

काठमाडौं, १ भदौ । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि विशेषगरी शहरी क्षेत्रमा त्रासको बाताबरण छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुदै काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेपछी काठमाडौं उपत्यकामा दिनानु दिन संक्रमितको वृद्दी भैरहेको अवस्था छ । संक्रमितहरु बढ्ने क्रम जारी रहदै गर्दा विभिन्न स्थानीय तहले आ-आफ्नो क्षेत्र सिल गर्ने देखि विभिन्न मापदण्डहरु लागु गर्दै आएको अवस्था छ ।

यसै बीच कोरोना संक्रमण दर बढेसँगै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको छ । भदौ १ गते देखि १५ गते सम्म लागु हुने गरि नगरपालिकाले यस निषेधाज्ञा जारी गरेको हो । यदि उक्त निषेधाज्ञा उलंघन गरे कडा कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।

जारी विज्ञप्ति यस्तो छ ।

०००

साबधान ! निषेधाज्ञा तोडेपछि हवाई फायर

चितवन, १ भदौ । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि भीडलाई नियन्त्रणमा लिँदै निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको उहाँले जानकारी दिनुभयो । भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए । ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो ।