काठमाडौँ, ९ असोज (रासस) : आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शन गरिएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उहाँले भन्नुभयो ।
जोशीले जनस्तरबाट स्थापना भएको कला परिषद्लाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले डा श्रेष्ठ बहुप्रतिभाको धनी भएको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्याम कला भएको उल्लेख गर्नुभयो ।
वरिष्ठ कलाकार हरिप्रसाद शर्माले डा श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताउनुभयो । नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डङ्गोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
डा श्रेष्ठले आफ्ना श्रीमान् डा विनोद विजुक्छे र छोरा आरभ विजुक्छेको साथ र सहयोगले आफू कला क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेको बताउनुभयो । सोमबारसम्म चल्ने प्रदर्शनीमा १०० कला प्रदर्शन गरिएको छ । प्रदर्शनबाट उठेको रकम समाजसेवामा खर्च गर्ने डा श्रेष्ठले जानकारी दिनुभयो ।



प्रतिक्रिया