मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पति पहिचान

मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पति पहिचान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ कालिका भगवती मन्दिर परिसरमा अवस्थित जङ्गलमा १६० जातका वनस्पतिको पहिचान भएको छ । मन्दिर परिसरका जङ्गलमा अध्ययन गरिरहेको वनस्पतिविद्को समूहले हालसम्म पहिचान भएका वनस्पतिको विषयमा जानकारी गराएको हो । मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौँ वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदैछ ।

मन्दिरमा करिब ४०० वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । बोट, बिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको अध्ययन टोलीमा सहभागी प्रवीण भण्डारीले बताउनुभयो । उहाँ चीनमा वनविज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहनुभएको छ । “जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जङ्गलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ”, उहाँले भन्नुभयोे, “हामी अध्ययनकै क्रममा छौँ, मन्दिरको जङ्गलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।” जङ्गलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।

मन्दिरको अधिकांश भू–भाग जङ्गलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताउनुभयो । “मन्दिरको आकर्षणका रूपमा रहेको जङ्गललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो”, उहाँले भन्नुभयो । व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ ।

यो पनि – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन, १७ असोज (रासस) ः चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्थासमेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सफारी हुने गर्दछ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् । निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेका लागि पनि गतिविधि खुला भएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो । फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेका छन् । निकुञ्जका प्रवेश गर्ने क्षेत्र सौराहा, पटिहानी, जगत्पुर र मेघौलीमा यतिबेला साना सभा, सम्मेलन, गोष्ठीलगायतका कार्यक्रम भइरहेका छन् । कतिपय होटलमा माडवारी समुदायका विवाहका कार्यक्रम बुक हुन थालेका छन् ।
चितवन आउने पर्यटक मुख्यरूपमा निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । निकुञ्जमा मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक आउने गर्दछन् ।

यो पनि – हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

कञ्चनपुर, १७ असोज (रासस) ः शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो ।

“दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन् ।” स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन । वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ । बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पु¥याएको हो ।

साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् । त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन् । सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताउनुभयो । उहाँका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।

बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पु¥याउँदै आएको छ । यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पु¥याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ ।