गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी बनउनका लागि सम्बन्धिक निकायद्वारा देशभर अनुगमन भइरहेको बताउनुभयो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।
यो पनि- चाडपर्वका बेला बजार अनुगमन गर्न माग
गलेश्वर, १८ असोज ९रासस० ः बेनी नगरपालिका– २ बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्माले १३ मार्च २०२१ सम्म उपभोग्य मिति रहेको वाइवाइ चाउचाउ बजारबाट ल्याएर आफ्नो नातिलाई दिनुभयो । अङ्ग्रेजीमा सामानको विवरणसहितको मिति राखेर बिक्री गरिएको त्यो चाउचाउको उपभोग्य म्याद कहिलेसम्म छ भनेर शर्माले हेर्न जान्ने कुरै थिएन तर नातिले आधा चाउचाउ खाइसकेपछि बाहिरको प्याकेटमा हेर्दा त्यसकोे उपभोग्य म्याद सकिएको छ महिना भइसकेको थियो ।
त्यस्तै ज्यामरुककोटका विनायक सापकोटाले स्थानीय बजारबाट दुई किलो मुस्ताङी भनिएका आलु, प्रतिकिलो रु १०० का दरले किनेर घरमा लैजानुभयो । तरकारी बनाउन काट्नलाग्दा आधाभन्दा बढी आलु कुहिएका थिए । बाहिर ठिकै देखिए पनि भित्र कीरा र रोग लागेर निलो भएका पाइए ।यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । म्याग्दीको सदरमुकाम बेनीलगायत अन्य ग्रामीण बजारमा अनुगमन गर्ने निकायको उदासिनताका कारण व्यापारीले सामानको मूल्य र गुणस्तरमा मनपरी गर्दै आएका छन् ।
सदरमुकाम बेनीबजारका साथै पश्चिम म्याग्दीको दरवाङ, सिङ्गाता तोपानी, बाबियाचौर, उत्तरी म्याग्दीको गलेश्वर, तातोपानीलगायत अन्य ग्रामीण क्षेत्रका पसलमा एउटै सामानको मूल्य पनि फरक–फरक हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।“सदरमुकाम र ग्रामीण क्षेत्रका अधिकांश पसलले म्याद नाघेका खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री फरक–फरक मूल्यमा बेचिरहेका छन्, बजारमा व्यापारीको मनपरी छ, नियमनकारी निकाय नदेखेजस्तो गरिरहन्छ” मालिका गाउँपालिका–७ बिमका टेकबहादुर जुग्जाली भन्नुहुन्छ, “यो त अचाक्ली नै भयो, पैसा तिरेर किनेको सामान खान लायककै हुँदैन ।”
अहिले बजारमा खाने तेल, मैदा, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । उपभोग्य बस्तुको मूल्य वृद्धि भए पनि आम उपभोक्ताले अझ बढी मूल्य तिरेर खरिद गर्न बाध्य भएको गुनासो आएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ बताउनुहुन्छ ।“तेलमा मूल्य बढेको देखिन्छ, अन्य उपभोग्य बस्तुमा धेरै गुनासो आएको छैन” उहाँ भन्नुहुन्छ, “तेलको मूल्य स्थानीय व्यापारीले भन्दा पनि कम्पनीबाटै बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको थियो।” यता जिल्ला प्रशासनबाट हुने बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको पाइन्छ ।
सहायक प्रजिअको नेतृत्वमा हुने अनुगमनबाट समेत महँगी नियन्त्रण हुन सकेको छैन । केही दिन अगाडि बजार अनुगमन गरिएकामा औपचारिकतामा मात्रै सीमित रहेको गुनासो गर्दै उपभोक्ताले बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तुको मूल्य कसरी बढिरहेछ भन्ने विषयमा सम्बन्धित निकायले चासो देखाउनुपर्ने माग गर्दैआएका छन् ।सदरमुकाम बेनीमै पनि चिनीको मूल्यमा एकरुपता छैन। चाडपर्व नजिकिएसँगै बेनीबजार तथा आसपासका क्षेत्रमा केही व्यापारीले चिनी प्रतिकेजी रु ९० देखि १०५ सम्म लिने गरेको पाइएको छ । प्रजिअ गणेशबहादुर अधिकारीले मनपरी मूल्य लिनेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । “तोकिएको बजार मूल्यभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, हामी छड्के अनुगमनमा निस्कन्छौ” उहाँ भन्नुहुन्छ ।
बेनीबजारमा चाडपर्वको समयमा मनपरी मूल्य लिन थालेपछि गुनासो आएको पसलमा ग्राहक नै बनेर जाने तयारी समेत भइरहेको स्रोतले जनाएको छ । कालोबजारी रोक्न व्यवसायीलाई प्रशासनले अनुरोध गरेको छ । यता ग्रामीण क्षेत्रमा समेत दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ ।ढुवानी खर्च बढनाका साथै बजारमै मूल्य आकासिएको जस्ता कारण देखाउँदै ग्रामीण क्षेत्रमा खाद्यान्नसहित उपभोग्य बस्तुमा जथाभावी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
मुस्ताङका भेडाच्याङ्ग्रा बजारमा
नेपालीहरुको महान पर्व दसैँलाई लक्ष गरेर मुस्ताङका भेडाच्याङ्ग्रा बजारमा आउन थालेका छन् । कोभिड–१९ का कारण तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँमा पालिएका भेडाच्याङ्ग्रा बजारमा ल्याउन थालिएको हो ।गत वर्ष पनि कोभिड– १९ का कारण कोरला नाका भएकाले तिब्बतबाट भेडाच्याङ्ग्रा आयात हुन नसकेपछि मुस्ताङबाटै सात हजारभन्दा बढी भेडाच्याङ्ग्रा बजारमा पठाइएको थियो । गतवर्ष साना भेडाच्याङ्ग्रासमेत बजारमा पठाइएको थियो । यसवर्ष मुस्ताङमै भेडाच्याङ्ग्राको सङ्ख्या कम भएकोले चार हजारको हाराहारीमा मात्र बजार पठाउन लागिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
“अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्याङ्ग्रा निकासी भएका छन्, मूल्य आकासिएको छ” भेडाच्याङ्ग्रा लिएर बेनी आउँदै गर्नुभएका पृथ गुरुङले भन्नुभयो, “बेनी–जोमसोम सडकमा ज्यानै फालेर यहाँसम्म ल्याइपु¥याएँ,चार दिन लाग्यो ।”उहाँका अनुसार मुस्ताङमै अत्यन्त कम भेडाच्याङ्ग्रा भएका कारण गोठमै एउटा च्याङ्ग्राको रु ३४ हजारभन्दा बढी तिर्नु परेकाले यसवर्ष भेडाच्याङ्ग्राको मूल्य बढेको हो ।“एक त गोठमै महँगा भए, त्यसमाथि बाटोको समस्याका कारण यसवर्ष मुस्ताङका भेडाच्याङ्ग्राको मूल्य बेनीमा नै रु ३५ हजार भन्दामाथि पर्छ, पोखरा–काठमाडाँै पु¥याउदा रु ३८ हजारको हाराहारीमा पर्न आउला” गुरुङले भन्नुभयो ।
तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटा रू सात हजारदेखि १० हजारसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताउनुभयो । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष मुस्ताङ्मै भेडाच्याङ्गाको अभाव देखिएको जानकारी दिनुभयो ।गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकाले यसवर्ष धेरै भेडाच्याङ्ग्रा नभएको उहाँको भनाइ थियो ।



प्रतिक्रिया