विभागले सहकारीको अनुगमन गर्ने


सहकारी विभागले आफ्ना मातहतका सहकारीको अनुगमन गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन)ले आज यहाँ आयोजना गरेको ‘साझा सेवाको सवलीकरण तथा सञ्जाल निर्माण अभियान’को उद्घाटन गर्दै विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले यसै वर्षभित्र क्षेत्राधिकारभित्र रहेका सबै सहकारीको अनुगमन गर्ने बताउनुभयो ।

विभागले १२५ संस्था र राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासङ्घका साथै २० केन्द्रीय सङ्घको नियमन गर्छ । रजिष्ट्रार शर्माले जनशक्ति अभावका कारण देशभरका सहकारीको अनुगमन गर्न समस्या भएको बताउनुभयो । “हामीसँग ३० जनाको जनशक्ति मात्र छ”, उहाँले भन्नुभयो, “त्यसैले देशभरिका सहकारीको अनुगमन गर्न सक्दैनाँै ।” देश सङ्घीयतामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय तहले सहकारीको अनुगमन गर्छन् ।

प्रदेश तथा स्थानीय तहले सहकारीको अझै अनुगमन गर्न सकेका छैनन् । नेफ्स्कुनका पूर्वअध्यक्ष डिबी बस्नेतले सहकारीको अनुगमन हुन नसक्दा सहकारीमा समस्या विकराल बन्दै गएको बताउनुभयो । उहाँले सहकारीको अनुगमनका लागि नियमन निकायलाई बारम्बारभन्दा पनि नियमन निकायले नसुनेको भनाइ राख्नुभयो ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमा समस्या आउन नदिन नियमित अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले नीति, विधि र प्रविधिमार्फत सहकारीको क्षमता बढाउँदै जोखिम घटाउनुपर्ने बताउनुभयो । संस्थाले प्रयोग गर्ने सेवामा एकरुपता ल्याउनका लागि सबै प्रदेशमा अभियान सञ्चालन गरिएको नेफस्कुनका प्रशासन प्रमुख सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो ।

यो पनि – बजार अनुगमन दुई पसललाई जरिवाना

दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज भएको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो बजारी गर्ने दुई पसललाई कारबाही गरी २० हजार जरिवाना लगाइएको अनुगमन टोलीका सहभागी एवं सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी म्याद नाघेको घ्यू, विभिन्न ब्राण्डका पेय पदार्थ, दही, बिस्कुट, क्यान जुस, जाम, अचार गरी रु १६ हजार बराबरको नष्ट गरिएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल झिङ्गा भन्केको, बासी र गन्हाउने मासु बिक्री गरेको पाइएको छ । भनपाको ब्रह्मायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको अनुगमनमा पशु बधशाला र मासु पसल न्यूनतम मापदण्ड पनि पूरा नभएको, दर्ता नगरेको, गन्हाउने मासु र सुकाएको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको अनुगमन निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस