प्रधानमन्त्री प्रचण्डले द्वैध चरित्र प्रदर्शन गर्नु हुदैन : मनीष सुमन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रदेश सांसद मनीषकुमार सुमनले समाजवादी मोर्चा एमसीसी कार्यान्वयनको विपक्षमा नरहेको बताएका छन् ।

‘सुरुमा हामी पनि एमसीसी सम्झौताबारे सशंकित थियौं । तर व्याख्यात्मक टिप्पणीसहित संसद्बाट दुई तिहाइ बहुमतले स्वीकार गरिसकेको अवस्थामा यो हामी सबैको सम्पत्ति हो । समाजवादी मोर्चा एससीसी कार्यान्वयनको विपक्षमा छैन । नेकपा विप्लव समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक हो । संसदीय राजनीतिमा आइसकेपछि उसलाई कन्भिन्स गर्नु हाम्रै दायित्व हुन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता सुमनले एमसीसी कार्यान्वयनमा जसपाको कुनै विमति नभएको पनि औंल्याए । उनले थपे, ‘जसपाको भनाइ र गराइमा एकरुपता छ । व्याख्यात्मक टिप्पणीसहितका एमसीसीमा कुनै खराबी छैन । विद्युत् बिक्रीमार्फत मुलुकले आर्थिक रुपमा फड्को मार्छ । यसको न नवीकरण हुन्छ, न त म्याद थपिन्छ । त्यसैले पाँच वर्षभित्रै सम्पन्न गर्न सक्नुपर्छ ।’

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसमा द्वैध चरित्र प्रदर्शन गर्न नहुने उनले स्पष्ट पारे । सुमनले भने, ‘प्रधानमन्त्री भनेको माओवादीको मात्र होइन, हामी सबैको हो । माओवादीले एमसीसी अनुमोदनका बेला सडकमा आफ्ना साथीहरुलाई पिटाउने, पानीको फोहोराले भिजाउने रोल खेल्नुभयो, भित्र व्याख्यात्मक टिप्पणी गरेर पारित गराउनुभयो । यो त द्वैधचरित्र हो । कार्यान्वयनको चरणमा आएर त्यसको विपरीत बोल्नु अनुचित हो । सस्तो लोकप्रियताका लागि बोल्नुको कुनै औचित्य छैन ।’

प्रतिक्रिया दिनुहोस