नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।
यो पनि – डाका गिरोहका योजनाकार चार महिनापछि पक्राउ
डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।
घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब रु नौ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
लुुटपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको प्रनाउ विष्टको भनाइ छ ।
पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् । पुस्तैनी (पुख्र्यौली) घर धनुषाको झिजा भएका पासवानलाई सरकारले चार दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्बास बस्ती बसाएको थियो । त्यसै परिवारका पासवान धनुषाबाट रौतहटसम्मका र यदाकदा सीमापारि भारतमा हुने डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।



प्रतिक्रिया