ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो ।

चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराउनुभयो ।

यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ ।

यो पनि – बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पहिलोपटक सत्ता सम्हाल्नुभएका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो ।