बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो । प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरुप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरुको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रकोक्षेत्रमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले सुरुआत गरिसकेको छ ।
यो पनि – पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन
दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो ।विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रु १५ लाखको कारोबार गर्दै आएको जनाइएको छ । यसरी उत्पादित सामग्री काठमाडौँस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा बिक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताउनुभयो ।
उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध सङ्कलन हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध सङ्कलन गरिँदै आइएको छ । “दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ”, केन्द्र प्रमुख प्रकाश केसीले भन्नुभयो । उहाँका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरिद गर्ने गरेका छन् ।
केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाई–भैँसी पाल्ने कृषकको सङ्ख्या बढेको कृषक सुरेश कर्माचार्यले बताउनुभयो । “यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाई–भैँसी पाल्दै आएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पु¥याइरहेको छ । एघार रोपनी जमिनमा अवस्थित केन्द्रका छ भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनःनिर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताउनुभयो ।



प्रतिक्रिया