वर्षाका कारणमा खानेपानीको हाहाकार

वर्षाका कारणमा खानेपानीको हाहाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १५ कात्तिक (रासस) : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ । वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेको हो । गाउँमा ल्याइएको एकमात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीयवासी केशवराज भट्टले बताउनुभयो । गाउँमा दुई हप्तादेखि खानेपानीको अभाव भएको छ । उहाँले भन्नुभयो, “अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामीहरु दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं ।” उहाँले भन्नुभयो, “गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो, खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ ।”

खानेपानी अवरुद्ध हुँदासमेत गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो दिएको छैन । चडेपानीमा २० किलोमिटर टाढाको मूहान धरमघरबाट खानेपानी ल्याइएकामा सो खानेपानी समेत नआउँदा समस्या भएको हो । यसअघि चडेपानीमा गत असार दोस्रोसाता पनि पहिराले खानेपानीको संरचनामा क्षति पु¥याएपछि खानेपानीको अभाव भएको थियो ।

यो पनि – ज्यानको बाजी राखेर हिमालपारीको यात्रा

लमजुङ, १५ कात्तिक (रासस) : बाँदर लड्ला जस्तो भिरको बीचमा बनाइएको सडकमाथि ठूला ठूला पहाड । तल मस्र्याङ्दी नदी । यी बीचमा ठूला चट्टान खोपेर बनाइएको साँघुरो सडक । आङ सिरिङ हुने भिर । यिनै भिर भएरै निर्माण गरिएको छ, हिमालपारीको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडक ।

साँघुरो कच्ची सडकमा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ । ठाउँ–ठाउँमा गएको पहिराका कारण यात्रा झन कठिन बनेको छ । जोखिम मोलेरै लमजुङ मनाङ आवातजावत गर्न स्थानीयवासी बाध्य छन् । जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजना अनुरुप २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले निमार्ण सुरु गरेको थियो ।

सडक निर्माणको जिम्मा २०५७ सालदेखि नेपाली सेनाले पाएको हो । सेनाले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेला बेलामा पहिराका कारण सडक भतिकँदा यात्रुले ज्यानको बाजी राखेर हिमालपारीको यात्रा गर्दै आएका छन् । सहज रुपमा यात्रा गर्न सकिएको छैन । हालसम्म सडक व्यवस्थित र कालोपत्र हुनसकेको छैन् ।

मनाङका स्थानीयवासी आशिष परियारले भन्नुभयो, “यस सडक हुँदै यात्रा गर्दा घर फर्किन सकिन्छ की सकिन्न भनेर डर लागिरहन्छ ।” बाढीपहिराले बर्सेनि ठाउँ–ठाउँमा सडक छियाछिया बनाउदा जीर्ण बन्दै गएको छ । बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर छ । लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर लामो दूरीको सडकमा मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार २०० फिटमाथि हुँदै सवारीसाधान गुड्छन् । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराई मनाङ पुग्ने गर्दछन् ।

“विभिन्न ठाउँमा बेला–बेलामा पहिरो गइरहन्छ, पहिलाको भन्दा पनि बाटो बिग्रिदै गएको छ”, जीप चालक सोम मगरातिले भन्नुभयो, “कुन बेला के हुन्छ, हामी जस्ता सधैँ यही सडककमा सवारी गुडाउने चालकलाई डर रहन्छ ।” बेँसीशहर चामे सडक स्तरोन्नतिका लागि सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गर्ने गरेको छ । उपलब्धि भने बालुवामा पानी हाले जस्तो भइरहेको छ ।