सार्वजनिक जमिनमा सामूहिक खेती

सार्वजनिक जमिनमा सामूहिक खेती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १६ कात्तिक (रासस) : व्यास नगरपालिका–१० दुम्सी स्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरुपको बाली लगाउँदै आएको हो ।

सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेती गर्ने अवसर दिएपछि उनीहरु खुसी भएका छन् । विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएको हो । विगत चार वर्षअघि देखि नै सामूहिक खेती गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

सहकारीले आयआर्जनका लागि करिब रु एक लाखको लागतमा जमिन सम्याएर खेत बनाएपछि खेती गर्न थालेको उहाँले बताउनुभयो । सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्र्याक्टर सहयोग गरेपछि थप उत्साहित भएको सो संस्थाले जनाएको छ ।

चरिचरन बन्द गरी स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारीमार्फत सामूहिक खेतीको प्रयास गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । जसको जग्गा छैन उनीहरुलाई प्राथमिकता दिएर समूह बनाइएको छ । ‘मैले काम पाइनँ, मैले गरी खान पाइनँ’ भन्नेहरुका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएपछि उक्त समस्या हटेको उहाँले बताउनुभयो ।

उक्त स्थानमा रहेको करिब २५ रोपनी सार्वजानिक जग्गा विपन्न समुदायका लागि प्रयोग गर्न दिइएको छ । सहकारीले पराल सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिइने गरिएको छ । केन्द्रले गाईको मल तथा मूत्र सामूहिक खेतीका लागि दिने गरेको छ । स्थानीय गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फस्टाएको र विषादी प्रयोग नगरी अग्र्यानिक उत्पादन गरिएको छ ।

सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएको चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले बताउनुभयो । सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो । संस्थामा ३२६ आबद्ध छन् । आफ्नो जमिन नहुने विपन्नका लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । हाल १०९ जना सामूहिक खेतीमा आबद्ध भइसकेको सो सहकारीलेले जनाएको छ ।

यो पनि – भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

जाजरकोट, १६ कात्तिक (रासस) : एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो । उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उहाँलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको लागेको छ । आउँदा, जाँदा बाटोमा उहाँका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन् । बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उहाँले भन्नुभयो, “घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो । धेरै दुःख पाइने गर्छ । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।”

यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ ।”

नलगाडको सबैभन्दा टाढाको वडाका रुपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ । डोल्पाको सिमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ । सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैँ रकम लिन आउनु परेको स्थानीवासी हस्त कामीले बताउनुभयो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँहरु दुर्गम मध्यमा पर्दछन् । सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ । नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरुका गुनसो छन् । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरुसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् । जिल्लाको टाढा मध्यको पालिका जुनिचाँदेसमेत पर्दछ । पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ ।