भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १६ कात्तिक (रासस) : एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो । उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उहाँलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको लागेको छ । आउँदा, जाँदा बाटोमा उहाँका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन् । बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उहाँले भन्नुभयो, “घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो । धेरै दुःख पाइने गर्छ । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।”

यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ ।”

नलगाडको सबैभन्दा टाढाको वडाका रुपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ । डोल्पाको सिमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ । सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैँ रकम लिन आउनु परेको स्थानीवासी हस्त कामीले बताउनुभयो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँहरु दुर्गम मध्यमा पर्दछन् । सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ । नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरुका गुनसो छन् । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरुसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् । जिल्लाको टाढा मध्यको पालिका जुनिचाँदेसमेत पर्दछ । पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ ।

यो पनि – वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

फुङ्लिङ, १६ कात्तिक (रासस) : सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ ।

वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा कोरोना सङ्क्रमणका कारण अघिल्लो वर्ष औपचारिकतामै सीमित भएको त्यहाँका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले बताउनुभयो ।दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आउनुभएको छ ।

यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्ने स्थानीय याङ्मानुर्पु शेर्पाले बताउनुभयो । पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजा पाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।

फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।
गत वर्ष कोरोना महामारीको समयमा पनि यो पर्व मनाइएकामा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाका रुपमा सहभागी भएको स्थानीयवासी बताउँछन् ।

यस पर्वको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको यो पर्वको जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताउनुभयो ।समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।