भारतसँगको सम्बन्धकै आधारमा अमेरिकाले दक्षिण एशियामा आफ्नो प्रभावलाई पुर्नजिवित गर्न थाल्यो । नेपालसहित श्रीलंका, मालदिभ्स र बँगलादेशमा अमेरिकी अधिकारीहरुको भ्रमण भयो । चीनको ऋणको विषयले अप्ठ्यारोमा परेका देशहरुले अमेरिकाको साथ खोजिरहेका थिए । यो उसका लागि उत्तम अवसर बन्यो । गलवालमा भएको झडपपछि भारत चीनसँग रुष्ट थियो । अमेरिकाले भारतसँग महत्वपूर्ण सम्झोताहरु गर्न पुग्यो ।
पूर्व यूरोप हुँदै पश्चिम यूरोपतर्फ चीनको मित्र शक्ति रुस अगाडि बढिरहेको थियो । जर्मनीसँगको समुन्द्रमुनी बिछ्याइएको रुसी ग्याँस पाइपलाइन अमेरिकाका लागि चुनौती बन्यो । अमेरिका पूर्व सोभियत संघ र आसपासका देशहरुलाई नाटोमा आवद्ध गराउँदै बढेको थियो । रुस त्यसमा चुनौती बन्यो । युक्रेनको संकट आयो । रुसमाथि सैन्य दबाब बढाउन अमेरिकाले पोल्यान्डलगायत देशमा सैनिक पठायो । युक्रेनमा हतियार पठायो । यसरी अमेरिकाले यूरोपमा रुसी चुनौतीको सामना गर्दै गयो ।
अफ्रिकामा पनि चीनको प्रभाव बढ्दै गयो । अमेरिका र उसको मित्र शक्ति फ्रान्सलगायत देश त्यसमा चुनौती बनेर आए । अफ्रिकामा शक्ति राष्ट्रहरुको टकरावको परिणामस्वरु सैनिक विद्रोहहरु हुनथाले ।
ताइवानमाथि चीनले कब्जा जमाउने रणनीति नै सार्वजनिक गर्यो । यसलाई रोक्न अमेरिका सक्रिय भयो । एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य गठबन्धन नै बनायो । क्वाड नाम दिएर अमेरिकासहित भारत, जापान र अष्ट्रेलियाको गठबन्धन बन्यो । समुन्द्रमा सैन्य अभ्यासहरु हुनथाले ।
उता काजिकिस्तानमा विद्रोहको अवस्था बन्यो । त्यसलाई दबाउन रुस र उसको गठबन्धनमा रहेका देशहरुले सैनिक पठाए । काजिकिस्तानको घटना रुसलाई चुनौती दिने उद्देश्यका साथ घटेको देखिन्थ्यो । त्यसमा रुसले नियन्त्रण गुम्न दिएन ।
पश्चिम एशियामा पनि अमेरिकालाई चीन र रुसको चुनौती बढ्दै गएको देखिन्छ । इरान अमेरिकाको विरोधमा पहिले देखि नै थियो । पछिल्लो समय साउदी अरब र युएइ सन्तुलित सम्बन्धमा छन् । साउदीका राजकुमार मोहम्मद बिन सलमान पश्चिमाहरुको पेलाईमा परेपछि रुस र चीनसँग पनि नजिकिए । उनले यसको सन्देश चीनमा आयोजित हिउँदे ओलम्पिकमा सहभागिता जनाएर दिए ।
हिउँदे ओलम्पिक उदघाटनमा चीन पुग्नेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेत थिए । इजिप्ट, अर्जेन्टिनालगायत देशका राष्ट्रप्रमुख बेइजिङ पुगे । ३२ देशका सरकार प्रमुख चीन पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।
अमेरिकालाई चीन र रुसले एकसाथ चुनौती दिदा विभिन्न देशहरुमा युद्धको कालो बादल मडारिइरहेको छ । युक्रेन, काजिकिस्तानको संकट हुँदै अफ्रिकाका देशहरुमा थप संकट बढ्दै गएको छ । शक्तिराष्ट्रको टकरावमा सामरिक महत्वका साना र कमजोर देशहरुले युद्ध र द्वन्द्वको नयाँ चुनौती भोग्नुपर्ने वाध्यकारी अवस्था विकास भएको छ ।
एशिया, अफ्रिकामा मात्र नभई यूरोपमा समेत युद्धको कालो बादल मडारिएको छ । रुसले सैनिक तयारी अवस्थामा राखेपछि अमेरिकाले पनि यूरोपका देशहरुमा सैनिक पठाएको छ । महासागरहरुमा युद्धपोतहरु सक्रिय बनाइएका छन् ।
प्रतिक्रिया