जसप्रीत बुमराहको घातक बलिङ : भारत ४७ रनले विजयी

जसप्रीत बुमराहको घातक बलिङ : भारत ४७ रनले विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जसप्रीत बुमराहको घातक बलिङसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।

बिहीबार सम्पन्न खेलमा भारत ४७ रनले विजयी भएको हो। भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका अजमतउल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए। नजीबउल्लाह जाद्रान १९, गुलबदीन नइब १७, मोहम्मद नबी १४ र नूर अहमद १२ रनमा आउट भए।

भारतका जसप्रीत बुमराहले चार ओभरमा एक मेडनसहित सात रन खर्चिएर तीन विकेट लिए। अर्शदीपले समान ओभरमा समान तीन विकेट लिन ३६ रन खर्चिए। कुलदीप यादवले दुई तथा अक्षर पटेल र रविन्द्र जडेजाले समान एक विकेट लिए।

त्यसअघि बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रन बनायो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २८ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे।

हार्दिक पाण्डेले ३२ रन बनाउँदा विराट कोहलीले २४ र रिषभ पन्तले २० रनको योगदान दिए। शिवम दुबे १० र कप्तान रोहित शर्मा आठ रनमा आउट भए।

अफगानिस्तानका रासिद खानले चार ओभरमा तीन विकेट लिए। फजलहक फारुकीले पनि तीन विकेट हात पारे भने नवीन-उल-हकले एक विकेट लिए।