एनसेलका ग्राहकले डेटा प्याक वा ब्यालेन्स नभए पनि इन्टरनेट प्रयोग गर्न पाउने

एनसेलका ग्राहकले डेटा प्याक वा ब्यालेन्स नभए पनि इन्टरनेट प्रयोग गर्न पाउने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन पाउने भएका छन् । कम्पनीले फेसबुकको मातृ संस्था मेटासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सक्ने व्यवस्था मिलाएको हो ।

मोबाइल ब्रोडब्यान्ड इन्टरनेट कभरेज राम्रो भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रय शक्तिका कारण कहिले काहिं मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने अवस्थामा हुन्छन् । यस किसिमका खाडल पुर्न एनसेलले मेटासँगको सहकार्यमा मङ्गलबारदेखि लागु हुने गरी दुई प्याकेज ल्याएको छ, फेसबुक बेसिकमोड र डिस्कभर।

विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि डेटा सेवा लिन यो अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ । डिस्कभरले टेक्स्टमात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिने बताइएको छ । त्यस्तै डेटा प्याक र डेटा चलाउन आवश्यक ब्यालेन्स नभएको अवस्थामा कम्पनीका ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक प्रयोग गर्ने सुविधा पाउँछन् ।

यी दुवै प्रोडक्टमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागु हुने कम्पनीले जनाएको छ । यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्‍याउने र कम्पनीको सधैं अन अभियानको एक अंशको रूपमा यसले ग्राहकहरूलाई मोबाइलमा केही आधारभूत सेवाहरू प्रयोग गरिरहने कुराको सुनिश्चित दिलाउने विश्वास छ ।

यस किसिमका सहकार्यले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्ने एनसेलका प्रमुख व्यावसायिक अधिकृत उमेर मोहसिनले बताए । डिस्कभर एक एन्ड्रोइड एप हो ।

एनसेलका ग्राहकले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्टमा मात्र पहुँच पाउने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्ट मात्र सपोर्ट गर्ने हुनाले यसमा भिडिओ, अडिओ, र अन्य प्रकारका धेरै डेटा खपत हुने सामाग्री भने उपलब्ध हुँदैनन् ।

यसैगरी स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनका वेबसाइट बुकमार्क गरिएका छन् ।

फेसबुक बेसिक मोडमा एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्न ब्यालेन्स नभएमा पनि टेक्स्ट र फोटोहरूसहितका फेसबुक पोस्ट हेर्न सक्छन् । यसका साथै कम्पनीका ग्राहकहरूले आफ्नो स्टाटस तथा पोस्ट गर्ने, फोटो हेर्ने र राख्ने जस्ता कामहरू गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि भने स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।