जनतामा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने आनन्द पोखरेलको दाबी

जनतामा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने आनन्द पोखरेलको दाबी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गरेका छन् । मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको स्पष्टोक्ति थियो ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दुई दलबीच भएको सहमति हिजोबाट कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरु पनि विस्तारै कार्यान्वयन हुने दाबी गरे । उनले भने,‘जति धेरै दल त्यति धेरै वैदेशिक हस्तक्षेप भयो, जति धेरै दल भयो त्यति धेरै भ्रष्टाचार र कुशासन भयो, जति धेरै दल त्यति धेरै सामाजिक न्याय मर्ने स्थिति भएको छ । त्यसैले अहिले हामीले दुई दलीय ध्रुवीकरणको कुरा गरेका छौं । त्यो ध्रुवीकरणले आउँदो निर्वाचनमा एउटा दलले बहुमत ल्याउनुपर्छ । र अर्को दल प्रतिपक्षमा हुने स्थिति हुनुपर्छ । त्यसो भयो भने नेपालको राजनीतिक हस्तक्षेप अन्त्य हुन्छ ।’

उनले कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने दाबी गरे । उनले कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्दा देशमा ठूला ठूला परिवर्तन भएको र सत्ता नै परिवर्तन भएको इतिहास स्मरण गराए ।

मुलुकमा अप्ठ्यारो पर्दा कांग्रेसले कम्युनिष्टसँग सहकार्य गरेको इतिहास रहेको भन्दै यसपटक पनि अप्ठ्यारो पर्दा कांग्रेसले आफूहरुसँग सहकार्य गर्न लागेको उनको भनाई छ । हिजो तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि दललाई प्रयोग गरेको र व्यवस्था नै खान खोजेपछि कांग्रेस र कम्युनिष्ट मिलेर अघि बढेको पनि बताए ।

उनले आफूहरुले कांग्रेसलाई संवैधानिक राजसंस्थामात्रै नबोक र माओवादीलाई पनि सशस्त्र द्धन्द्धबाट बाहिर आउ भनेर भनेको पनि सुनाए । उनले केपी शर्मा ओलीले २०७२ को महाभूकम्पको विपत्तिको बेलामा प्रतिकुलताको बीच मुलुकको नेतृत्व गरेको र भारतीय नाकाबन्दी पनि व्यहोरेको बताए ।

कांग्रेसले २०७२ साललाई सम्झिएको, २०६२/०६३ सालको जनआन्दोलनलाई पनि सम्झिएको र अहिले प्रचण्डको ३२ सिटको जादुयी नम्बरको कारण सिर्जना भएको अस्थिरतापनि सम्झिएर एमालेसँग सहकार्य गर्न आएको उनको दाबी छ ।

उनले आफूहरुले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको सुनाए । उनले आफूहरु देशमा दुई दलीय ध्रुवीकरण हुनुपर्छ भनेर वकालत गरेकोले कांग्रेस र माओवादीको गठबन्धन तोड्न सफलता हाँसिल गर्नु ठूलो उपलब्धि भएको बताए ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएर फर्किएपछि एमालेलाई सरकारबाट बाहिर निकाल्न लागिपरेको र त्यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको सुईंको पाएपछि आफ्नो अध्यक्ष ओलीले देउवासँग सत्ता–सहकार्यको वार्ता गरेको दाबी गरे । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक हुने स्पष्ट पारे । उनले दुई दलले देश र जनताको हितको लागि ७ बुँदे सहमति गरेको दाबी गरे ।