राष्ट्रपतिले ७६ (२) अनुसार सरकार गठनको लागि आह्वान गरेर संविधानको प्रावधान हातमा लिएको आरोप

राष्ट्रपतिले ७६ (२) अनुसार सरकार गठनको लागि आह्वान गरेर संविधानको प्रावधान हातमा लिएको आरोप

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शासन सत्तामा बसेकाहरुबाट नै संविधान र कानुन मिच्ने प्रवृत्ति बढेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरुले संविधान र कानुन नमान्ने प्रवृत्ति समस्याको रुपमा देखापरिरहेको बताएका हुन् । सर्वसाधारण जनताले संविधान र कानुनको अक्षरस पालना गरेपनि नेता र शासकहरुले कानुन नमानेको उनको दाबी छ ।

‘नेपालमा संविधान र कानुन मान्ने प्रवृत्ति भएन । नेपालमा संविधान र कानुन नमान्ने प्रवृत्ति भयो । जनताको तहबाट होईन । जनताको तहबाट कसैले संविधान र कानुन मिच्यो भने त्यसको उपचार हुन्छ । त्यसले दण्ड सजाय भोग्नुपर्छ । शासनमा बसेका र राजनीति गर्नेहरुबाट संविधान र कानुनको उल्लङ्घन भयो भने त्यसको उचार हुँदैन । त्यही हो दण्डहिनता भनेको । आज त्यही समस्या मुलुकले भोग्दैछ,’– उनले भने ।

जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनहरु यिनै राजनीतिक खेलाडीहरुले सहमति गरेर अगाडि बढेको स्मरण गराउँदै उनले नेताहरुमा हामीले सहमति गरेपछि जे पनि हुन्छ भन्ने भाष्य निर्माण भएको बताए । उनले अहिलेको सरकार परिवर्तनको मूल कारण भ्रष्टाचारको ढाकछोप रहेको उनले बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेको प्रावधानलाई अनेक किसिमका तर्क गरेर प्रावधानहरु हातमा लिएको आरोप लगाए ।

‘अहिलेको सरकारको परिवर्तन पनि भ्रष्टाचार र फाइलसँग सम्बन्धित छ भन्ने कुरा आइराखेको छ । अहिलेको राष्ट्रपतिले पनि संविधानमा भएको व्यवस्थालाई विभिन्न किसिमका तर्कहरु गरेर संविधानको प्रावधानलाई हातमा लिइँदैछ । यो गलत हो,’– उनले भने ।

शासकले संविधान र कानुन नमान्ने अवस्थामा अब विद्रोहको रुपमा परिणत हुने उनको चेतावनी छ । देश र जनतालाई केन्द्रविन्दुमा राखेर बनेको संविधानको उद्देश्यलाई परिपूर्ति गर्न अहिलेको सरकार नबनेको उनको दाबी छ । संविधानमा भएका कुराहरु अक्षरस पालना गर्दिँदा मात्रै पनि देशमा भएका समस्याहरु क्रमशः समाधान हुँदै जाने सम्भावना रहेको उनले बताए । देशको शिक्षा, स्वास्थ्य, अर्थतन्त्रलगातका संरचना डनहरुले चलाएको उनको टिप्पणी छ ।

‘नेपालको वर्तमान राजनीतिक प्रणाली र संविधान छ, संविधानमा लेखिएको कुरामात्रै गर्दिएको भए केही थिएन नि त । संविधानमा शिक्षा निःशुल्क भन्यो । गर्नसक्छन् निःशुल्क ? ठूला–ठूला डनहरुले चलाएका छन्, तिनै डनहरु मन्त्री बनिसके,’– उनले भने ।

उनले दशकौंदेखि देश चलाउने शासकहरुको गलत प्रवृत्तिका कारण जनताले दुःख पाइरहनुपरेको बताए । संविधान सभा सदस्यसमेत रहेको भण्डारीले संविधान मिचेर ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरिएको दाबी गरे । संविधानको धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाउँदैगर्दा उपधारा ३ आकर्षित हुने उनको दाबी छ । ‘निवर्तमान सरकार दुई वा दुईभन्दा बढी दलको सहमतिले बनेको सरकार हो । त्यसले बहुमत पाएन भने सोझो कुरा छ, संविधानको धारा ७६ (३) मा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ । त्यो भएन,’– उनले भने ।