लकडाउन : एउटै फिल्डमा खटिएका सशस्त्रलाई ‘विशेष खाजा’, नेपाल प्रहरी छैन

लकडाउन : एउटै फिल्डमा खटिएका सशस्त्रलाई ‘विशेष खाजा’, नेपाल प्रहरी छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । सशस्त्र प्रहरी मुख्यालयले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन कार्यान्वयन गर्न खटिएका आफ्ना जनशक्तिलाई दिउँसो ‘विशेष खाजा’खुवाउन देशभरका युनिटलाई परिपत्र गरेको छ ।

नियमित रासन स्केलबाहेक दिउँसो छुट्टै खाजाको व्यवस्था गर्न सशस्त्रले शुक्रबार देशभरका युनिटलाई परिपत्र गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ विरुद्ध लगाइएको लकडाउन कार्यान्वयनमा फिल्डमा तैनाथ फौजका लागि दिउँसो २ देखि ३ बजेको समयमा खाजाको व्यवस्था गरिएको बताए ।

‘लकडाउन अवधिभर देशभर फिल्डमा तैनाथ फौजलाई खाजाको व्यवस्था गर्न शुक्रबार बाहिनी, गण/गुल्म तथा बीओपीसम्म सर्कुलर गरिएको छ,’ महानिरीक्षक खनालले कान्तिपुरसँग भने, ‘फौजको मनोबल उकास्‍न यसले सहयोग पुर्‍याउने छ।’

फिल्डमा खटिनेलाई अनिवार्य रुपमा मास्क र पञ्‍जा लगाउन तथा कार्यालय प्रवेश गर्दा स्यानिटाइजर प्रयोग गर्न पनि दिर्देशन दिइसकेको उनले बताए ।

तर सोहि फिल्डमा खटिने खटिएका नेपाल प्रहरीलाई भने खाजाका लागि छुट्टै व्यवस्था गरिएको छैन । नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी उमेशराज जोशीले लकडाउन वा अन्य भूमिकामा खटिएका प्रहरीलाई अतिरिक्त खाजाको व्यवस्था नगरिएको बताए ।

‘लकडाउनका क्रममा खटिएका सुरक्षाकर्मीलाई छुट्टै खाजाको व्यवस्था भएको छैन, कतिले आफ्नै खर्चले खाजा खाने गरेका छन्,’जोशीले भने,‘सरकारले यस विषयमा सोचिदिए काम गर्ने जनशक्तिको मनोबल उच्च हुने थियो ।’

फ्रन्टलाइनमा खटिनेको मनोबल उच्च भएमात्रै तोकिएको जिम्मेवारी पनि प्रभावकारी रुपमा पूरा गर्न सकिने उनले बताए ।