साझापेज, काठमाडौँ। नबिल बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, उनीहरूका अभिभावक तथा शैक्षिक परामर्शदाताहरूलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उक्त हबको उद्घाटन गरेका हुन्।
परम्परागत बैंकिङ सेवाभन्दा फरक ढंगले स्थापना गरिएको यस हबले वैदेशिक अध्ययनको प्रारम्भिक योजना, भर्ना प्रक्रिया, शैक्षिक कर्जा, विदेशी मुद्रा सटही सुविधादेखि अध्ययनपछिको कर्जा भुक्तानी व्यवस्थापनसम्मका सम्पूर्ण बैंकिङ प्रक्रिया एकै स्थानबाट उपलब्ध गराउनेछ। यसका साथै विद्यार्थीलाई अध्ययन अवधिभर नियमित किस्ता तिर्नुपर्ने बाध्यताबाट राहत दिन बैंकले विशेष मोरेटोरियम सुविधासमेत प्रदान गर्ने जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले शिक्षामा गरिने लगानी समग्र राष्ट्रको भविष्य निर्माणका लागि भएको बताउँदै यस सेवालाई देशैभरका शाखाहरूमा काउन्टरमार्फत विस्तार गरिने प्रतिबद्धता जनाए। अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले नबिल बैंकको यो एकद्वार प्रणाली व्यवहारिक र समयसापेक्ष रहेको भन्दै प्रशंसा गरे। बैंकका सिइओ मनोजकुमार ज्ञवाली र सञ्चालक अनन्त पौड्यालले नेपाली बैंकिङ क्षेत्रमै पहिलो पटक भित्र्याइएको यो अवधारणाले विद्यार्थीहरूका लागि पूर्ण ज्ञान र वित्तीय साझेदारको रूपमा काम गर्ने स्पष्ट पारे। हाल नबिल बैंकले देशभरका २६४ शाखा र ३१५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।





प्रतिक्रिया