बेलायतका प्रधानमन्त्रीलाई कोरोना देखिएपछि स्वास्थ्य जाँच गराएका स्वास्थ्यमन्त्रीलाई पनि कोरोना भएको पुष्टि


एजेन्सी, १४ चैत । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकक पनि कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री ह्यानककले एक ट्विट गर्दै आफूमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

शुक्रबारै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री बोरिसलाई कोरोना देखिएसँगै आफ्नो पनि परीक्षण गर्नुपर्ने सल्लाह बमोजिम जाँच गराएको र संक्रमन देखिएको स्वास्थ्यमन्त्री ह्यानककले बताएका छन् ।

ह्यानकक अहिले सेल्फ आइसोलेसनमा बसिसकेका छन् । उनले आफ्नो कार्यभार घरबाटै निर्वाह गर्ने पनि जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री ह्यानककले आफूमा कोरोनाका सामान्य लक्षण देखा परेको र स्वास्थ्य सामान्य रहेको बताएका छन् । साथै उनले सावधानीका सबै उपाय अवलम्बन गर्दै स्वास्थ्य सेवालाई सघाउँदै जीवन रक्षामा लाग्न सबैलाई आह्वान गरेका छन् ।

यसअघि बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण पुष्टि भैसकेको छ । त्यस्तै कोरोनाकै कारण लन्डनमा दुई जना नेपालीको पनि मृ’त्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस