२०० यात्रुसहित ९ मालबाहक ट्रक समातिए, यात्रु भन्छन् – ‘काठमाडौंमा खानै पाउन छाडिएपछि बाध्य भएर घर हिंडेका हौँ’

२०० यात्रुसहित ९ मालबाहक ट्रक समातिए, यात्रु भन्छन् – ‘काठमाडौंमा खानै पाउन छाडिएपछि बाध्य भएर घर हिंडेका हौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १५ चैत । खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु ढुवानी गर्न पाउन सरकारले दिएको छुटको दुरुपयोग गर्दै ट्रकहरुले यात्रु ओसार्न थालेको पाइएको छ । शुक्रबार राति १० बजे गजुरीस्थित इलाका प्रहरी कार्यालयको टोलीले जाँच गर्ने क्रममा यात्रु बोकेका ९ ओटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका ती ट्रकमा त्रिपालले ढाकेर दुई सय जना यात्रुहरु ओसारिरहेको अवस्थामा समातिएका हुन् । सबै यात्रु र ट्रकलाई थप कारबाहीका लागि काठमाडौंतर्फ फर्काइएको गजुरी प्रहरीले जनाएको छ ।

गत मंगलबारदेखि देशभर लागु भएको लकडाउनका कारण अत्यावश्यकबाहेकका सवारीसाधन ठप्प छन् । धादिङ प्रहरीले राजमार्गलगायत मुख्य बजार क्षेत्रमा पैदल हिँड्नसमेत दिएको छैन । तर, ट्रक चालकहरुले रातको समयमा सुरक्षाकर्मीलाई झुक्याउँदै यात्रुहरु ओसारिरहेको भेटिएको हो ।

सहज रुपमा गन्तव्य पुर्‍याउने भन्दै चालकहरुले प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले भाडा असुलेको एक यात्रुले बताए । उनले काठमाडौंमा खाना खान नपाएर घर फर्किन लागेको गुनासो गरे । ‘खान नपाउने भएपछि बाध्य भएर काठमाडौंबाट हिँडेका हौं,’ ति यात्रुले भने ।