शाही पद त्यागेका पुर्व बेलायती राजकुमार ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले नदिने ट्रम्पको घोषणा


एजेन्सी, १७ चैत । पुर्व बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती तथा अमेरिकन मोडल मेघनको सुरक्षाका लागि अमेरिकाले पैसा नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटरमार्फत् क्यानडाबाट अमेरिका आउन लागेका यी दम्पत्तीको सुरक्षाका लागि अमेरिकाले खर्च नगर्ने बताएका हुन् ।

‘म बेलायत र रानी एलिजावेथको साथी र ठूलो प्रशंसक हुँ। राजपदवी त्यागेका ह्यारी र मेघन स्थायी रूपमै क्यानडा बस्थे,’ उनले ट्विटरमा लेखेका छन्, ‘अहिले उनीहरूले अमेरिका आउन क्यानडा छाडेका छन् । अमेरिकाले उनीहरूको सुरक्षाको खर्च गर्ने छैन। त्यसको लागि उनीहरू आफैंले खर्च गर्नुपर्नेछ ।’

यता ह्यारी र मेघनले भने अमेरिकासँग सुरक्षा स्रोत माग्ने कुनै योजना नै नभएको बताएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

‘अमेरिकी सरकारसँग सुरक्षा माग्ने हाम्रो कुनै योजना छैन,’ आइतबार ह्यारीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘निजी खर्चमै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ ।’

ह्यारीको परिवारले यस वर्ष प्रायः जसो समय क्यानडामै बिताए । गत महिना क्यानडा सरकारले उनीहरूको पद परिवर्तन भएसँगै सुरक्षा दिन बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस