दान दिएकै जग्गामा भवन बनाउन माग

दान दिएकै जग्गामा भवन बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमका शान्ता कार्की र बिन्दा कार्कीले आफूहरुले प्रहरी चौकी निर्माण गर्न निःशुल्क प्रदान गरेको जग्गामा नै भवन बनाउन गाउँपालिकासँग माग गरेका छन् ।

चोप्राङमा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाउन कार्की परिवारले चार रोपनी तीन पैसा जग्गा दान दिनुभएको थियो । उनीहरुले अहिले गाउँपालिकाले उक्त स्थानमा भवन निर्माण गर्न नमानेको बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी गुनासो गर्नुभएको छ । उहाँहरुले भन्नुभयो, “गाउँपालिकालाई जग्गा जुन प्रयोजनका लागि दिएको हो सोहीअनुरुप उपयोग गर्नुपर्छ ।”

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ र वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीले आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएको र राजनीतिक दबाब अस्वीकार गर्दा भवन निर्माणमा बाधा सिर्जना भएको पत्रकार सम्मेलनमा समाजसेवी नारायण कार्कीले बताउनुभयो । उहाँले आफूहरुले इलाका प्रहरी कार्यालय निर्माणका लागि जग्गादान गरिसकेको र सोही जग्गामा यथाशक्य चाँडो भवन बनाइनुपर्ने माग गर्नुभयो ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि मात्रै नभएर गाउँपालिका प्रयोजनका लागि पनि स्थानीयवासीबाट १५ रोपनी जग्गा दानपत्र लिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

जग्गा दान गर्नेहरुमा बालकृष्ण खत्री, रुद्रबहादुर खड्का, खड्गबहादुर खत्री, शङ्कर कार्की, लक्ष्मण केसी, पूर्णबहादुर केसी, तुलविक्रम खत्री, मोहन केसी, सुरेन्द्र केसी, झप्पडबहादुर खत्री, खुमबहादुर खत्री, विश्वराम खत्री, केदार राउत, चित्रबहादुर राउत र गोपाल राउत रहेका छन् ।

पत्रकार सम्मेलनमा जग्गादाताले आफूहरुले दान गरेको जग्गामा पालिकाका आवश्यक संरचना बनाउन माग गर्दै नबनाइए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।