पहिरोको जोखिममा रहेका भैसिकिलेका छ घरपरिवारलाई स्थानान्तरण

पहिरोको जोखिममा रहेका भैसिकिलेका छ घरपरिवारलाई स्थानान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १६ साउन । पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो ।

हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले छ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । “पहिरोको जोखिम नरहेको ठाउँमा जग्गा खरिद गरी परिवारलाई स्थानान्तरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । जग्गा गाउँपालिकाले खरिद गरिदिए पनि घर भने सम्बन्धित व्यक्तिले नै बनाउनुपर्नेछ । “विस्थापित परिवारलाई सरकारले घर बनाउन केही रकम दिने कुरा छ, गाउँपालिकाले पनि के गर्न सक्छ त्यसमा छलफल गछौैँ”, उहाँले भन्नुभयो ।

गत असार २९ गते पहिरोले घर पुरिएर आम्बबहादुर थापाका दुई छोराबुहारी र एक नातिनी गरी पाँच जनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

यही साउन ६ गते परेको भीषण वर्षाले घर भत्किएका बन्दीपुर गाउँपालिका–१ का दुई परिवारलाई गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । पूर्ण घर क्षति भएकालाई रु ३० हजार सहयोग गर्ने निर्णयबमोजिम गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले मन्जु अधिकारी र अर्जुन अधिकारीलाई उक्त रकम प्रदान गर्नुभयो । सोही अवसरमा रेडक्रस सोसाइटीबाट प्राप्त सामग्रीसमेत प्रदान गरिएको थियो । बन्दीपुर–१ मा दुई घर पूर्ण, १० घर आंशिक क्षति र १५ घर जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाढीपहिरोबाट घर क्षति भएकालाई राहत दिने निर्णय गरेको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाका अनुसार पूर्णरूपमा घर क्षति भएकालाई प्रतिघर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रतिघर रु १० हजारका दरले राहत दिइनेछ । साथै बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत दिइनेछ ।

“पहिराले घर पूर्णरूपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार २० घर आंशिकरूपमा क्षति भएको छ । पहिरोबाट विस्थापित भएकाहरु छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेतहरु बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ । “खेतमै पुगेर कति क्षति भएको छ, त्यसको निरीक्षण गर्छौँ, त्यसपछि कृषकलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत रकम दिन्छाँै”, अध्यक्ष थापाले भन्नुभयो ।

मास्क प्रयोग नगर्नेलाई जरिवाना

मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो । “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।” उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसका बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।