जसलाई सुख भन्ने थाहै छैन

जसलाई सुख भन्ने थाहै छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ साउ।“मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीकोे जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कँुडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथा जस्तो छ ।
माई नगरपालिकाकै चिसापानीमा जन्मनुभएका रञ्जीतलाई सानैमा आमाले संसार छाडिन् भने बाबुले अर्की आमा ल्याएपछि घरै छाड्नुप¥यो । दुःख गरेर पाँच कक्षा पढ्नुभएका रञ्जीतको बाल्यकाल पनि मावली घरमा दुुःख गर्दैमा बित्यो । बाबुआमाको माया नपाएपछि अन्य आफन्त र छिमेकीले पनि चासो दिएनन् । खोलाको किनार छेउमा झोडा फाँडेर दुःख गर्दै रहनुभएका रञ्जीतलाई बोलाएर ‘एक छाक भात’ समेत कसैले दिएन ।

हुर्कँदै गए पनि उहाँको कर्म भने फेरिएन । सधँै दुःखको दुःखै रह््यो । बाबुआमाको माया नभएपछि अर्काका घरमा दुःख गरेकै भरमा जीवन चल्दै गयो ।

आफ्नै बाबुले छोरा होइन भनेपछि

उमेर पुगेपछि (१८ वर्ष) उहाँले पनि नागरिकता बनाउनुप¥यो । नागरिकता बनाउन जाँदा बाबुआमाको प्रमाण सोधेपछि उहाँ खाली हात घर फर्किनुभयो । कतैबाट उहाँले आमालाई फेला पार्न सक्नुभएन भने बाबुले आफ्नो छोरो होइन भने । त्यस घटनाले त उहाँलाई झनै निराश बनायो । जसोतसो छरछिमेकी र आफन्तले सनाखत गरेपछि नागरिकता बन्यो ।

आफ्ना नाममा टेकेको भूइँ पनि नभएपछि रञ्जीतले ऐलानी जग्गाको झोडा फाँडेर घर बनाउनुभयो । जेनतेन गरेर जीवन चलाइरहनुभएका उहाँलाई विवाहपछि चाहिँ जीवन सुध्रिन्छ जस्तो लाग्यो । रञ्जीतको सोचाइ ठीक विपरीत ठहरियो । मागी विवाह गर्न नसकेपछि उहाँले सिक्किमबाट भगाएर त विवाह गर्नुभयो तर ससुरालीले पनि ‘गरीबसँग विवाह गरेको’भन्दै श्रीमतीलाई माइत जान दिएनन् ।

“ससुरालीतर्फको पनि आशै हरायो । कहीँबाट पनि सहयोग आएन । हामी दुःखै गरेर चलिरह्यौँ ।’ एक जनाको ठाउँमा दुई जना भएपछि झन् दुःख त गर्नै प¥यो । खेताला गएका पैसाले सानो झुप्रो ठड्याउन भने रञ्जीत सफल हुनुभयो ।

श्रीमतीको आफ्नै व्यथा

श्रीमती उमाको पनि कथा रञ्जीतकै जस्तो छ । उहाँले जन्म लिएको डेढ वर्षमै आमाले संसार छाडेपछि रञ्जीतको भन्दा कम पीडा भोग्नु परेन । पुरानो घर चिसापानी नै भए पनि बाध्यताले सिक्किम बसाइँ सर्नु प¥यो । जेनतेन चलिरहेकै चलिरहेकै थियो जीवन तर श्रीमतीलाई रोगले सताएपछि अस्पताल धाउनु प¥यो रञ्जीतले । धेरै अस्पतालमा उपचार गराउँदा पनि ‘जाती भइहाल्छ नि’ भन्ने आश्वासन पाए पनि रोग ‘बीसको उन्नाइस’ भएन ।

अन्तिममा झापाको एक अस्पतालमा देखाउँदा पाठेघरमा समस्या देखियो । त्यसै त दुःखमा जिइरहेका रञ्जीतलाई अब भने के गर्ने कसो गर्ने भयो । उहाँले भएभरका ‘लालाबाला’ बेचेर श्रीमतीको उपचार गराउनुभयो । श्रीमतीको उपचार त भयो तर भएका वस्तुभाउ पनि सकिए भने कमाउने हात पनि घटे । श्रीमती गाह्रो काम गर्न नसक्ने हुनुभयो । “घरमा छोराछोरीलाई खाना पकाउन मात्र सक्छिन् । गहुँँगो चीज उचाल्नै हुँदैन ”, रञ्जीतले भन्नुभयो,“घाँस पनि काट्छिन् तर लिन जानुपर्छ ।”

दुई छोरालाई मोतिबिन्दु र ऐँजेरु

उहाँको ठूलो छोरालाई मोतिविन्दुले सतायो । पहिले इलाम अस्पतालमै उपचार गराउँदा सामान्य भनेको बिरामी अर्को चोटि ठूलै रोग ठहरियो । जहिल्यै दुःख सहेका रञ्जीत परिवारको यो कुरा सुनेपछि होशहवास नै उड्यो । शल्यक्रियापछि उहाँको आँखा त बच्यो तर पहिले जस्तो देख्ने चाहिँँ भएन । अहिले पनि उहाँको आँखा कम्ती देखिन्छ भने चश्मा नलाई हुँदैन ।

रञ्जीतका कान्छा छोरा अर्पणको मूत्रअङ्गमा समस्या देखियो । शुरुमा सामान्य देखिएको समस्याले पछि विकराल रूप लियो । पिसाब फेर्नसमेत गाह्रो भयो भने पीप र रगत जान थाल्यो ।“शुरुमा त अलि अलि दुख्थ्यो अरे । पछि रगतै बग्न थालेपछि मात्र भन्यो ”, रञ्जीतले भन्नुभयो । दश वर्षीय अर्पणको उपचारका लागि रञ्जीतले धेरै अस्पताल घुमाउनु भयो । यस्तो साह्रो रोग जाती नहुने भन्दै सबै अस्पताल पन्छिए । एकातिर आर्थिक अवस्था ‘अत्यन्त’नाजुक त्यसमाथि पनि छोराको रोग जाती नहुने सुनेपछि कार्की दम्पती के गर्ने कसो गर्ने अवस्थामा पुग्यो । बल्लतल्ल छोराको उपचार त भयो तर अहिले सञ्चो भएको छैन ।

“पिसाब फेर्न पनि साह्रै गाह्रो । सानो धारो मात्र झर्छ ”, रञ्जीतले भन्नुभयो,“कहिले सञ्चो हुने वा नहुने पत्तो छैन ।” एकातिर अहिले रञ्जीतको परिवारमा खाद्य पदार्थ अभाव छ भने अर्कातिर साहुको ऋण तगारो बनेको छ ।

‘साहुको ऋण सम्झँदा डाँको छाडेर रुन मन लाग्छ’

छोराको उपचार त रञ्जीतले गराउनुभयो तर अब ऋण कसरी तिर्ने समस्या छ । श्रीमतीको उपचार गराउँदा नै रु चार लाख ऋण लागेको रञ्जीतले अझै तिर्न सक्नुभएको छैन भने बाँकी ऋण त तिर्ने कुरै भएन । “के गर्ने, जसै गरे पनि बाँच्नुपर्दो रहेछ”, रञ्जीतले भन्नुभयो,“दुःख र साहुको ऋण सम्झँदा पनि आँशु छुट्छन् । डाँको छाड्न मन लाग्छ ।” रञ्जीतको जेठा छोराको उपचारका लागि रु १२ हजार र कान्छाको उपचारका लागि रु २५ हजार लाग्यो ।“हुनेका लागि त यो रकम सानो होला तर म जस्ता घर न थरका लागि त विशाल हो ”, रञ्जीतले भन्नुभयो ।

आर्थिक स्थिति एकदमै नाजुक भएपछि रञ्जीतले सबैसमक्ष सहयोगका लागि आग्रह गर्नुभएको छ । परिवारका सबै बिरामी परेपछि यति बेला रञ्जीतको काम गर्ने आत्मबल घटेको छ । “हुन त दुःख सधँै गर्नैपर्ने रहेछ तर एक चोटिको ऋण तिरे भने चाहिँ केही गरिन्छ कि भन्ने छ ।”