पद ओगट्न आएको हैन : राखेप वनियुक्त सदस्य श्रेष्ठ


राष्ट्रिय खेलकूद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकूदको विकासमा सहयोग गर्न आएको बताउनुभएको छ । नेपाल ब्याडमिन्टन सङ्घले आज उहाँलाई बधाई दिन तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सदस्य श्रेष्ठले चारवर्षे कार्यकालमा खेलकूद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउनुभयो ।

श्रेष्ठलाई नेपाल ब्याडमिन्टन सङ्घले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई सिफारिस गरेको थियो । साउन १५ गते मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो । श्रेष्ठ ब्याडमिन्टन सङ्घका उपाध्यक्षसमेत हुन् ।

सो अवसरमा सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठको मनोनयनले खेलकूद क्षेत्रलाई फड्को मार्न मद्दत पुग्ने बताउनुभयो । ब्याडमिन्टनमा पूर्वखेलाडी श्रेष्ठ अढाइ दशकयता ब्याडमिन्टन सङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ ४५ वर्षभन्दा बढी उमेर समूहको डबल्सतर्फको पूर्वच्याम्पियन पनि हुनुहुन्थ्यो । श्रेष्ठले स्विडेन र भारतमा सम्पन्न मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिपसमेत खेल्नुभएको थियो ।

राईलाई आर्थिक सहयोग

सल्यान जिल्ला खेलकूद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । उहाँलाई कर्णाली स्पोर्ट्स क्लबले रु १० हजार उपलब्ध गराएको छ । यस्तै जुम्ला एथलेटिक्स सङ्घ तथा कीर्तिमानी धावक एवं ओलम्पियन हरिबहादुर रोकायाले रु १० हजार सहयोग गरेको छ ।

राईको हाल काठमाडौँ रिसर्च सेन्टरमा उपचार भइरहेको छ । उहाँले आज कर्णाली क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गर्नुभयो । क्यान्सरबाट पीडित राईलाई यसअघि नेपाल एथलेटिक्स सङ्घले रु ६० हजार सहयोग गरेको थियो । उहाँको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस