बर्सातले ग्रामीण सडक अवरुद्धः आवतजावतमा समस्या

बर्सातले ग्रामीण सडक अवरुद्धः आवतजावतमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विमलबहादुर विष्ट

डोटी जिल्लामा प्रायः दैनिक भइरहेको बर्सातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ ।

यहाँका दर्जनौँ ग्रामीण सडक र गाउँका घोरेटो बाटोसमेत अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । यतिमात्र नभई गाउँका घोरेटो बाटोसमेत पहिराले अवरुद्ध बनाएपछि स्थानीयवासीलाई एक गाउँबाट अर्को गाउँ जानका लागि पनि निकै समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । लगातारको बर्सातकै कारण पहिरो आउँदा यहाँका दर्जनौँ घरपरिवार विस्थापित भएका छन् । बर्सातले सडकहरु हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ ।

बर्सातका कारण जिल्लाको सिलगढी झिग्राना, मौवा, मेल्लेक, केआइसिंह, वायल, कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, बिपिनगर गड्सेरा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीले जानकारी दिनुभयो । लगातार परेको वर्षाले यहाँका सडकहरु हिलाम्मे भएसँगै सवारीसाधन गुड्न सकेका छैनन् । यहाँका सडकहरुमा बर्सात शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको छ । यहाँका ग्रामीण भेगका सडकमा लगातारको बर्सातका कारण पहिरो आउँदा अहिले अवरुद्ध भई यातायात सञ्चालन बन्द भएको केआइसिंह गाउँपालिका–५ रानागाउँका स्थानीयवासी योगेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त ठूलो बर्सात भइरहेको छ, सडकहरुमा ठूलठूला पहिरो आएका छन् कसरी गाडी चल्न सक्नु, सबै गाउँका सडक बन्द भए ।”

बर्सातका कारण ग्रामीण सडकमा यातायातका साधन चल्न बन्द भएपछि गाउँमा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल पर्न थालेको जोरायल गाउँपालिका–५ गड्सेराका इशवबहादुर विष्टले जानकारी दिनुभयो । बर्सातका कारण यहाँका ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा पहिरो आएका कारण सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको बर्सातले ग्रामीण सडक बेकामै भएका छन्, सवारीसाधन चलाउन मुस्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकहरुमा हल्का वर्षा शुरु हुनासाथ गाडी चलाउन समस्या हुने तथा ग्रामीण भेगको यात्रा जोखिममय हुने शैलेश्वरी यातायात व्यवसायी समिति दिपायलका अध्यक्ष गणेश मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक साँघुरा छन्, सामान्य पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी चलाउन खोजे दुर्घटना भइहाल्छ, गाडी चलाउनै सकिन्न ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिममा रहेको चालकहरु बताउँछन् । वर्षौं पहिले खनिएका ग्रामीण सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेका कारण बर्सातमा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बडिकेदार गाउँपालिकाका–१ बिपिनगरका स्थानीय व्यापारी कर्णबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी स्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था भएको छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ ।”

यहाँका ग्रामीण क्षेत्रका सडक ज्यानमारा सडकका रुपमा परिचित हुन थालेका छन् । बर्सातले हिलाम्मे भएका यस्ता सडकमा सवारीसाधन गुड्न बन्द भएसँगै सदरमुकाम सिलगढीसँग यहाँका गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर चोखालले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातले गाडी चल्न बन्द भयो, सवारीसाधन चल्न बन्द भएपछि सदरमुकामसँगको हाम्रो सम्पर्क बन्द भएको छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी चलेका कारण जथाभावी काटिएका सडकमा अहिले बर्सातले ठूलो समस्या उत्पन्न हुने गरेको छ । अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालनका लागि पहल भइरहे पनि लगातार बर्सात भइरहेका कारण काम पुनः सञ्चालन हुन नसकेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी बताउँछन् । सडक ग्रेड नमिल्ने गरी साँघुरो खनिएको स्थानीयवासीको आरोप छ । उनीहरु भन्छन्, “उपभोक्ता समितिले मनपरी ढङ्गले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ । रासस