आन्दोलनकी नेतृ मंगलादेवीलाई नेपाल रत्न विभूषण दिन माग


गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनका अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषण दिन अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आज एक विज्ञप्तिमार्फत नेपाली महिला आन्दोलनका प्रणेता एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी सिंहलाई नेपाल रत्नबाट सुशोभित गर्नु राज्य र नागरिकको पनि दायित्व भएको उल्लेख गर्नुभएको छ ।

नेतृ सिंहले प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक र अधिकारको निमित्त गरिएका आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएको थियो । “महिलाहरुलाई घरभित्रको कामकाजमा सीमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानवअधिकारबाट समेत बन्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने नेतृ सिंह नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनुहुन्छ भन्ने कुरामा कुनै दुई मत छैन्” विज्ञप्तिमा उल्लेख छ ।

काठामाडौँको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदाहुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त सिंहले खेप्नु भएको दुःख कष्ट सबैका लागि प्रेरणादायी छ । विसं २००७ को क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रहेको प्रतिष्ठानले जनाएको छ । नारी पुरुष एक अर्काको पूरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थी बिगार्नु होइन, बरु यो त कर्तव्यबोध पनि हो, महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनु पर्दछ भन्ने मान्यता राख्ने नेतृ सिंह नेपाल महिला संघका पहिलो अध्यक्ष हुनुहुन्छ । सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पति गणेशमान सिंहलाई जन्मकैद भएको घटना सहनु भएको थियो । सो घटनाले उहाँलाई हतास बनाएन बरु विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्न प्रेरणासमेत दियो । रासस

प्रतिक्रिया दिनुहोस