आइसोलेसनबाटै अस्पताल हाँक्दै डा तिवारी


– नारायण अधिकारी

चितवन, ११ भदौ । सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहनुभएको छ ।

बाह« दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा सहभगी, दैनिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबै त्रसित भएका थिए । तिवारीमा पनि लक्षण देखिएको थियो ।

राती घरमै भएका बेला सङ्क्रमण देखिएपछि भोलिपल्ट सबेरै अस्पतालमै आएर आइसोलेसनमा बसेर उहाँले उपचार गर्न शुरु गर्नुभयो । उहाँले भन्नुभयो “चार दिनसम्म त मलाई गाह्रो भयो, त्यसपछि फोनबाट काम गर्न थालें ।” शुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउनेजस्ता समस्या उहाँमा देखिएको थियो ।

तिवारीमा सङ्क्रमण देखिएलगत्तै निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा. जगन्नाथ तिवरीलाई दिइएको छ । कोभिड व्यवस्थापनका लागि डा. प्रमोद पौडेलको संयेजकत्वमा कोभिड क्लिनिकल टिम परिचालन भइरहेको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी पनि नियमित अस्पतालमा खटिरहनुभएको छ । कामको उच्च चापका कारण तिवारी अइसोलेसनबाटै टेलिफोन गरेर अधिकांश काममा जुटिरहनुभएको छ ।

तिवारीले भन्नुभयो, “अध्यक्ष ज्यूदेखि मन्त्रालयसम्म समन्वय गर्ने काम फोनबाटै गरिरहेको छु ।” जसले जे जिम्मेवारी पाए पनि अन्तिम निचोड लिँदा प्रमुखसँग समन्वय गर्ने गर्दछन् । सामान्यदेखि ठूला समस्या सुरुमा आफुमै आएर ठोक्किनेहुँदा काम गर्दिन भनेर सुख पाउने ठाउँ पनि नहुने उहाँको भनाइ छ । अईसोलेसनमै रहनुभएका तिवारीले टेलिफोनमा भन्नुभयो, “मन्त्रालयले हामीलाई पाँच थान भेन्टिलेटर खरिदको सुनिश्चितत गरेको छ ।” भेन्टिलेटर थपिदैं गर्दा उपचारमा सहज हुने भन्दै उहाँले खुशी प्रकट गर्नुभयो ।

हाल अस्पतलको १० शै्ययाको कोभिड सघन उपचार कक्षमा दुई वटा र २० शै्ययाको साधारण सघन उपचार कक्षमा चारवटा मात्र भेन्टिलेटर छन् । तिवारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले टेलिफोन गरी स्वास्थ्य लाभको कामनासँगै सङ्कटमा जुट्ने स्वास्थ्यकर्मीको मुल्याङ्गकन राज्यले गर्ने बताउनुभएको भन्दै उहाँले खुशी प्रकट गर्नुभयो । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरि १५ जनालाई सङ्क्रमण देखिएको छ ।

तिवारी अघिल्लो वर्षको असार अन्तिमसाता यहाँ प्रमुख भएर आउनुभएको हो । गएको चैत महिनाबाट उहाँ निरन्तर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिदै आउनुभएको छ । उहाँले भन्नुभयो “अहिले पनि मेरो ध्यान कसरी आम सर्वसाधारणलाई उपचार दिने भन्नेमै केन्द्रित छ ।” पछिल्ला दिनमा कोरोना भएका र नभएकालाई कसरी सुरक्षित उपचार गर्ने भन्नेमा आफुहरु लागि परेको तिवारी बताउनुहुन्छ ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । परोपकार प्रसूति गृहपछि सबैभन्दा धेरै प्रसूति गराउने यस अस्पतालले भरतपुर कोभिड–१९ प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले प्रमुख तिवारी आइसोलेसनमा रहँदा पनि समन्वय गरेरै काम गरिरहेको बताउनुभयो । सबैको समन्वय र सहयोगले अस्पताल सहजरुपमा अघि बढेको उहाँको भनाइ छ ।

यही मंगलबार पुनः परिक्षण गर्दा तिवारीमा सङ्क्रमण कायमै छ । भरतपुर अस्पतालमा वार्षिक चार लाख भन्दाबढी बिरामीले सेवा लिन्छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी सात सय हाराहारी कार्यरत छन् । अस्पतालक सूचना अधिकारी लिलाधर पौडेल देशकै महत्वपूर्ण अस्पताल भएकाले यसको व्यवस्थापन आफँैमा चुनौतिपूर्ण रहेको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस