बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण


सिन्धुपाल्चोक ११ भदौ । पहिराको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घरपरिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । वडा नं १ स्थित खमारेका २५ घरपरिवार पहिराको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।

गाउँपालिकाले जग्गा भाडामा लिएर पहिराको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । गाउँपालिकाका तर्फबाट प्रति परिवार तीन बण्डल जस्तापाता, ग्याँससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानीलगायतको प्रबन्ध मिलाइएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिबाट त्रिपाल, कम्बललगायत सामग्री आएको र विद्युत्मा विद्युत् प्राधकिरणले सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो । वडाका २५ घरधुरीका नागरिक पहिराको जोखिममा परेपछि वडाध्यक्ष मधु थापाले उनीहरुको स्थानान्तरणका लागी पहलकदमी लिनुभएको थियो ।

त्यस्तै पहिराले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घर जोखिममा परेपछि पहिराको निरीक्षण र स्थानीयवासीको अवस्था बुझ्न बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल सुन्दरडाँडा पुग्नुभएको छ । जोखिममा परेका स्थानीयवासीलाई भेट्न र तत्काल राहत तथा उनीहरुको जिउधनको रक्षाका लागि पहल गर्न उहाँ आज उक्तस्थलमा पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस