आलम परिवारसँग सातबुँदे सहमतिपछि शव बुझ्ने


झापा गाउँपालिका –३ मा प्रहरीको गो’ली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ ।

त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत सङ्घीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।
सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ । सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ । छलफलमा सङ्घीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।रासस

प्रतिक्रिया दिनुहोस