जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा


सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट रेफर गरिएकी एक किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि यहि भदौ ९ गतेदेखि बन्द गरिएको अस्पतालको नियमित सेवा आज साँझ सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

यहि भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी किशोरीको जिल्लामा उपचार सम्भव नभएपछि भदौ ४ गते थप उपचारका लागि काठमाडौँस्थित पाटन अस्पताल रिफर गरिएको थियो । काठमाडौँको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पाटन अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएकी किशोरीको भदौ ९ गते पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

झाडापखाला तथा ज्वरोका कारण बिरामी परेर रेफर गरिएकी किशोरीलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालले सूचना जारी गर्दै आकस्मिकबाहेक आफ्ना सबै सेवा बन्द गरेको थियो । तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट निस्किएर काठमाडौँमै रहेकी सङ्क्रमित भनिएकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

किशोरीको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीसहित ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताउनुभयो । सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले सूचना प्रकाशन गरेर बन्द रहेको सेवा पुनः शुरु गरिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस