भूकम्पपछिको पुनःनिर्माणका विषयमा ५८ अनुसन्धानपत्र


भूकम्पपछि निजी आवास, सार्वजनिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक सम्पदा पुनःनिर्माण, जीविकोपार्जन, उद्धार तथा राहत र सुशासनका विभिन्न पक्षमा नेपाली र विदेशी अनुसन्धानकर्ताका ५८ वटा अनुसन्धानपत्र प्रस्तुत भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनःस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न आयोजना गरेको चार दिने राष्ट्रिय परिसंवाद कार्यक्रममा भर्चुअल माध्यमबाट ती अनुसन्धानपत्र प्रस्तुत गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परिसंवाद कार्यक्रममा प्रस्तुत गरिएका अनुसन्धानबाट प्राप्त नयाँ तथ्य र ज्ञानले विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा विश्वमा नै नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अनुसन्धानले समुदायको सकृय सहभागितामा निजी आवास पुनःनिर्माण प्रभावकारी रुपमा अघि बढेको, प्रबलीकरण (रेट्रोफिटिङ) प्रविधिबाट पुराना संरचनालाई सुरक्षित बनाउन सकिएको, ऐतिहासिक महत्वका सम्पदाको पुनर्निर्माणमा पुर्खाहरुले गरेको कामलाई मौलिक रुपमा पुनर्जागरण गरी ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिने देखाएको उहाँले सुनाउनुभयो ।

इञ्जिनियरकाबीच सिमेन्ट र स्टील स्ट्रक्चर प्रविधिको छलफल हुने गरेकोमा अनुसन्धानले काठ, ढुङ्गा, चुना र सुर्की प्रयोग गर्ने प्रविधिबाट महत्वपूर्ण संरचना बनाउन सकिने देखाएको, नयाँ भवन संहिता तयार पारी सबै खालका भवनको संरचना निर्माणमा नयाँ थालनी भएको, समुदायमा सुरक्षित भवन बनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको पनि अनुसन्धानहरुबाट पाइएको कार्यक्रममा जानकारी गराइयो ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवादमा प्रस्तुत अनुसन्धानपत्रले नेपालको पुनःनिर्माण र पुनःस्थापनाका विविध पक्षलाई लिपिवद्ध गरी भावी पुस्तालाई जगेर्ना गर्न सहयोग पु¥याउने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी सदस्य तथा परिसंवाद कार्यक्रमका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले कार्यक्रमका निष्कर्षले प्राधिकरणलाई नीतिगत र कार्यक्रमगत रुपमा सुधार गर्नका लागि मार्गदर्शन एवं भावी पुस्ताका लागि ज्ञान र अनुभवको भण्डार हुने बताउनुभयो ।

प्राधिकरणले नेपालको पुनर्निर्माण र पुनःस्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वतयारी स्वरुप राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना गरेको हो । प्राधिकरणका सहप्रवक्ता तथा परिसंवाद कार्यक्रम सचिवालयका सदस्य सचिव मनोहर घिमिरेले कार्यक्रममा प्रस्तुत अनुसन्धानपत्रमा प्राप्त सुझावलाई समावेश गरी अन्तिम रुप दिइने र ती अनुसन्धानपत्र अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने जानकारी दिनुभयो ।
परिसंवादमा प्रस्तुत भएका अनुसन्धानपत्रमध्ये छानिएका २० वटा जापानस्थित अन्तर्राष्ट्रिय एलसेभियर जर्नलमा प्रकाशनार्थ पठाइनेछ । प्राधिकरणले यसबारे उक्त जर्नलसँग समझदारी गरिसकेको जनाएको छ । प्राधिकरणले केही अनुसन्धानपत्र आफ्नो प्रकाशनका रुपमा समेत प्रकाशित गर्नेछ ।

प्राधिकरणले सम्मेलनमा पेश भएका अनुसन्धानपत्र, पुनःनिर्माण र पुनःस्थापना सम्बन्धी दस्तावेज तथा संस्थागत उपलब्धि लगायतका पक्षलाई समावेश गरी अभिलेखीकरण गर्दैछ ।
अनुसन्धानपत्रमा सम्बन्धित क्षेत्रका विज्ञले टिप्पणीसहित सुझाव दिएका थिए । भदौ ८ गतेदेखि भर्चुअल माध्यमबाट गरिएको सम्मेलनका सबै सत्रमा गरी करिब दुई हजदार २०० सय सहभागी थिए । सबै सत्रका कार्यक्रम प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो । – रासस

प्रतिक्रिया दिनुहोस